पाइपलाइन मार्फत अमलेखगञ्जमा आयो पेट्रोलियम
भारतको मोतीहारीबाट पाइपलाइन मार्फत पठाइएको डिजेल पहिलो पटक शुक्रबार बिहान ९ बजे अमलेखगञ्जमा आएको छ ।
उक्त डिजेल बुधबार मोतीहारीबाट पेट्रोलियम पाइपलाइन मार्फत पठाइएको थियो ।
अमलेखगञ्ज डिपोमा एक हजार लिटर डिजेल खसाइएको पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर शरद पौडेलले जानकारी दिए ।
यसअघि परीक्षणका लागि पाइपलाइनबाट पानी पठाइसकेपछि अहिले एक हजार लिटर डिजेल पठाइएको पौडेलले बताए ।
एक हजार लिटर डिजेल ट्यांकीमा खसिसकेपछि पाइप बन्द गरेर पाइपलाइनको उद्घाटनपछि मात्रै तेल आउन शुरु हुने इन्जिनियर पौडेलले बताए ।
उद्घाटन नभएसम्मका लागि पाइपमा तेल भरी राख्न थप २१ हजार लिटर तेल पठाइने अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए ।
पहिलो चरणमा आइपुग्ने तेलको गुणस्तर परीक्षणका लागि १५ सदस्यीय भारतीय आयल निगमको विज्ञ प्राविधिक टोली पनि यतिबेला अमलेखगञ्जमा छ ।
पाइपलाइनबाट तत्काल प्रतिघण्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने अमलेखगञ्ज डिपो प्रमुख यादव बताउँछन् ।
अमलेखगञ्ज डिपोमा पेट्रोल राख्नका लागि ‘भर्टिकल’ नबनेका कारण तत्कालका लागि पाइपलाइनबाट डिजल मात्रै आयात गरिने आयल निगमले जनाएको छ ।
भारतको बरौनी डिपोबाट गुणस्तर प्रमाणित भएर पाइप मार्फत आएको तेलको अमलेखगञ्जमा पुनः गुणस्तर परीक्षण गरेर मात्रै निगमले वितरण गर्ने यादवले जानकारी दिए ।
सम्झौताको दुई वर्षपछि २०७४ पुसबाट भारतीय आयल निगमले मोतिहारी डिपोबाट पाइपलाइन निर्माण थालेको थियो । निर्माण शुरु भएको अठार महिनापछि गत असारमा पाइपलाइन निर्माणको कार्य सकिएको हो ।
पूर्वनिर्धारित समयभन्दा १५ महिना अगावै पाइपलाइन निर्माण सम्पन्न भएको छ । कूल ६९.२ किलोमिटर लामो पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ । उक्त पाइपलाइनमा ३६ लाख लिटर तेल मौज्दात रहन सक्छ ।