कला/साहित्यशनिवार, मंसिर २५, २०७३

बहुआयामिक विपिन

हिमालखबर

'भष्मे डन' को रुपमा होस् वा 'फणिन्द्र तिमिल्सिना', विपिन कार्कीले आफ्नो चरित्रमा न्याय गरेका छन्। चलचित्र छड्के का 'बिन्दु माझी' पनि धेरैले बिर्सेका छैनन्। सहायक पात्रको अभिनयलाई स्थापित गराउने काममा यतिबेला विपिन जति योगदान शायदै अन्य कलाकारले गरेका छन्।

विराटनगरबाट पढाइको सिलसिलामा काठमाडौं आएपछि रंगकर्ममा जोडिएका कार्की हरेक चलचित्रमा भिन्न रुपमा प्रस्तुत हुन रुचाउने आफ्नो स्वभावकै कारण सफलता हात परेको बताउँछन्।

त्यसका निम्ति पटकथाबाटै आफ्नो भूमिका खोज्न सक्रिय हुन्छन्। बेलाबेला पटकथा बदल्ने क्षमता पनि उनले राखेका छन्। भन्छन्, “आफ्नो भूमिकालाई कसरी प्रभावकारी बनाउने भनेर म बारम्बार घोत्लिरहन्छु।”

पात्रको हुलिया, हाउभाउ र पोशाकमा उनी खास चासो राख्छन्। मिल्दोजुल्दो चरित्र खोज्न भीडमा मिसिन्छन्। अरुले बोलेको हाउभाउ हेर्छन्। कसैको बोली त कसैको हाउभाउ उतार्छन्। र, यी सबैको 'फ्युजन' बाट आफ्नो चरित्र निर्माण गर्छन्।

जस्तो कि कार्कीलाई छड्के मा दिइएको भूमिका पनि छोटो र सामान्य थियो। तर, सानै सही, भूमिकालाई न्याय गर्न उनी चितवन पुगे। त्यहाँका युवासँग संगत गरे। उनीहरुको हाउभाउ टिपे। “शुरुमा बिन्दु माझीको चरित्र कमजोर थियो”, उनी भन्छन्, “तर, पछि उनैलाई सशक्त बनाइयो।”

कार्कीले पशुपतिप्रसाद को 'भष्मे डन' को आवाज प्राविधिक हरि थापाबाट नक्कल गरेका हुन्। सूटिङका बेला थापाको कर्मचारी खटाउने, हप्काउने शैलीबाट प्रभावित कार्की उनैबाट भष्मेको चरित्र बनाएको बताउँछन्।” तर, यसको भेउ निर्देशक दीपेन्द्र के खनालले समेत पाएनन्।

“मैले भष्मेको स्वर भासिएको बनाए, तर सबैले मेरो आवाज बिग्रिएको भन्ने ठानिरहे, मैले पनि चिसोले गर्दा यस्तो भएको हो भनेर ढाँटिदिए”, उनी सुनाउँछन्।

जात्रा को फणिन्द्र भन्ने पात्रमा आफ्नो स्वभाव र अनुभव मिसाइएको निर्देशक प्रदीप भट्टराई बताइरहन्थे। फणिन्द्रको भूमिका पाएका कार्कीले भट्टराईलाई 'फलो' गर्न थाले। उनी कसरी बोल्छन्, कसरी खुशी व्यक्त गर्छन्, तनावमा उनको अनुहार कस्तो हुन्छ नियाल्न थाले। “मिहिन गरेर हेर्ने हो भने जात्रा का फणिन्द्र निर्देशक भट्टराई नै हुन्” कार्की भन्छन्।
शिव मुखिया

प्रतिकृया दिनुहोस