रिपोर्टशुक्रबार, ३ श्रावण , २०७६

बहुविवाहले बिथोल्दै

गोपाल गडतौला

प्रहरीको तथ्यांकमा उकालो लागिरहेको बहुविवाह र बालविवाहको ग्राफ कम गर्न कानून निर्माणले मात्रै पुग्दैन। 

बहुविवाह गरेका खुमबहादुर विरुद्ध उजुरी दिन प्रहरीको महिला बालबालिका सेवा केन्द्र, टेकू पुगेका कान्छी श्रीमती समीक्षा, साहिंली श्रीमती नीता र काहिंली श्रीमती मुनाका बाबु रामबहादुर (दायाँबाट क्रमशः) । सबै तस्वीर: गाेपाल तड्ताैला । 

विजौरी, दाङका खुमबहादुर थापा (४५) बेपत्ता भएको दुई वर्ष भइसकेको थियो, वैदेशिक रोजगारीमा जान चाहने गाउँलेबाट लाखौं उठाएर भागेका उनी श्रीमती नीता बिक थापा (३०) को सम्पर्कमा पनि थिएनन् । खुमबहादुरलाई पैसा बुझाएका गाउँले हिसाब खोज्दै दिनदिनै घरमै आउन थालेपछि नीता श्रीमान खोज्दै असारको पहिलो साता काठमाडौं आइन् । काठमाडौंमा खोजी गर्दै जाँदा खुमबहादुरलाई भेट्टाउन सकेकी नीताको ओठतालु त्यतिबेला सुक्यो जब उनले श्रीमानका साथमा अर्की महिला समीक्षा तामाङ (२६) लाई पनि देखिन् ।

एकअर्कालाई देखेपछि मात्रै आफ्ना श्रीमानले धोका दिएको थाहा पाएका समीक्षा र नीता दुवै खुमबहादुर विरुद्ध बहुविवाहको उजुरी लिएर कालीमाटीस्थित प्रहरीको महिला बालबालिका सेवा केन्द्र पुगे । त्यसपछि प्रहरीले १० असारमा खुमबहादुरलाई पक्राउ गर्‍यो ।

पक्राउ परेका खुमबहादुरलाई भेट्न प्रहरी कार्यालय पुगेका काठमाडौं बौद्धका प्रेमबहादुर लामालाई त आश्चर्य र विस्मात एकैपटक अनुभव भयो, जब उनले आफ्नी छोरी मुनासँग प्रेमविवाह गरेका खुमबहादुरका अरू दुईवटी श्रीमती रहेछन् भन्ने थाहा पाए । दुई वर्षअघि मात्रै खुमबहादुरसँग विवाह गरेकी मुना अहिले रोजगारका क्रममा साइप्रसमा छिन् । “यो मान्छेले छोरीबाट ६ लाख रुपैयाँ पनि लगेको छ”, लामा भन्छन् ।

एकपछि अर्को अपराध

पाँचवटीसम्म विवाह गरेका खुमबहादुर थापा । उनी प्रहरी हिरासतमा छन् ।

नीता र खुमबहादुरको पहिलो चिनजान असार २०७३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको थियो । कतारबाट फर्कंदै गरेका र एकै जिल्लाका उनीहरूबीच फोन नम्बर साटासाट भएपछि निकटता झाङ्गिदै गयो, त्यसै वर्ष उनीहरूले विवाह पनि गरे । त्यसअघि नै अरू दुई महिलासँग विवाह गरिसकेका खुमबहादुरले नीतालाई पहिलेकी श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको कागज देखाएका थिए ।

खुमबहादुरले कुखुरापालन गर्ने बहानामा नीताका माइतीबाट रु.१२ लाख पनि हात पारे । त्यसकै चाँजोपाँजो मिलाउन भन्दै गर्भवती श्रीमतीलाई दाङको तुलसीपुरमा छोडेर भदौ २०७४ मा घरबाट निस्केका उनी छोरी दुई वर्षकी हुँदासम्म फर्किएनन् । “मेरो घरजम हुन्छ भनेरै बुबाले जग्गा धितो राखेर पैसा दिनुभएको थियो”, नीता भन्छिन् । 

दाङ छोडेपछि काठमाडौं बसेर विभिन्न म्यानपावर कम्पनीका लागि दलाली गरिरहेका खुमबहादुरको भेट वैशाख २०७५ मा समीक्षा तामाङसँग भयो । दुवै मिर्गाैलाले काम गर्न छोडेपछि डायलासिस गराइरहेका श्रीमानको उपचारका लागि खर्च जुटाउन विदेश जान खोजिरहेकी थिइन्, समीक्षा ।

उनलाई ‘सस्तैमा साइप्रस लगिदिने’ वाचा गरेका खुमबहादुरले समीक्षाको दुःखमा सहानुभूति देखाए, आफू बस्ने ठाउँ नजिकै कोठा खोजिदिए, सुखदुःखका कुरा गर्न थाले । “पहिलेकी श्रीमतीसँग डिभोर्स भइसकेको छ, बिहे गर्छु भन्न थालेपछि म पनि राजी भएँ” दुई महीनाकी गर्भवती समीक्षाले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

नीता, समीक्षा र मुना बाहेक अरू दुई जना महिलासँग पनि विवाह गरेका छन्, खुमबहादुरले । प्रहरीका अनुसार, खुमबहादुरकी पहिली श्रीमती थिइन्, रूपमती । १४ वर्षअघि श्रीमती रूपमतीलाई लिएर भारत पसेका खुमबहादुर त्यसको केही महीनापछि फर्कंदा आफू मात्रै थिए । त्यसपछि रूपमती बेपत्ता छिन् । उनका तर्फबाट खुमबहादुरका क्रमशः २२ र १७ वर्षका छोरी र छोरा छन् । रूपमतीपछि उनले दाङकै पवित्रासँग दोस्रो विवाह गरे । अहिले तुलसीपुरमा बस्ने पवित्राबाट पनि खुमबहादुरका एक छोरा र एक छोरी छन् । 

खुमबहादुरमाथि प्रहरीले बहुविवाह र विदेश लैजाने प्रलोभन देखाई यौन शोषण गरेको समेत दुईवटा मुद्दामा कारबाही अघि बढाएकोे छ ।

सिन्धुली कमलामाईका राजन श्रेष्ठ (४४) र काठमाडौं बौद्धकी संगीता लामा (४०) को २०५२ सालमा मागी विवाह भयो । दुईपटक कतार गएर आएका राजन दुई सन्तान र श्रीमतीलाई छोडेर दुई वर्षअघि हराए । यही असार पहिलो साता मात्र संगीताले थाहा पाइन्, उनका श्रीमान त गत चैतदेखि अर्कै महिलासँग सिन्धुलीको कमलामाई–१० करकरेमा बसेका रहेछन् । प्रहरीका अनुसार श्रीमान वैदेशिक रोजगारीमा गएका ती महिला पनि दुई सन्तानकी आमा हुन् ।

संगीताले ७ असारमा काठमाडौं जिल्ला अदालतमा श्रीमान राजन विरुद्ध बहुविवाह र मानाचामलकोे मुद्दा दर्ता गरेकी छन् । भन्छिन्, “बिहे गर्ने उमेरका छोराछोरी भएको श्रीमानले अर्की श्रीमती ल्याएपछि परिवारको बोझ र तनाव बढेको छ ।”

काठमाडौं प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार बहुविवाहका मुद्दा हरेक वर्ष बढिरहेका छन् । पछिल्लो तीन वर्षमा मात्रै उक्त कार्यालयमा बहुविवाहका १५३ वटा उजुरी दर्ता भएका छन्, जसमध्ये ६२ वटा त चालु आर्थिक वर्षको साउनदेखि जेठ महीनासम्म परेका हुन् । 

कारण वैदेशिक रोजगार
प्रहरीको महिला बालबालिका सेवा केन्द्र, टेकूकी प्रमुख, प्रहरी निरीक्षक चेतना पोखरेल युवाहरू रोजगारीका लागि घर बाहिर रहनुलाई बहुविवाह बढ्नुको एउटा प्रमुख कारण ठान्छिन् । “बहुविवाहका उजुरी प्रत्येक दिन आउँछन्, कारण पहिल्याउँदै जाँदा वैदेशिक रोजगारीका कारण अधिकांश दम्पती सँगै नबसेको देखिन्छ” पोखरेल भन्छिन्, “विवाह र यौन जीवनलाई मर्यादित बनाउन कानून बलियो बनाएर मात्र पुग्दैन, यसका लागि बलियो सामाजिक अभियानको खाँचो छ ।”

“बहुविवाहको यो आँकडा त बाहिर देखिएको मात्र हो, भित्र स्थिति झन् भयावह छ” अधिवक्ता शशि बस्नेत भन्छिन् । यद्यपि, पछिल्ला वर्षहरूमा यस्ता विषयमा उजुरी गर्ने चलन पनि बढेको उनको भनाइ छ ।

वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल बहुविवाह र बालविवाहलाई राज्यले विशेष सामाजिक समस्याका रूपमा प्राथमिकता दिएर सम्बोधन गर्नुपर्नेमा जोड दिन्छन् । “समाजमा जरो गाडेर बसेको यसखाले कुकर्म रोक्ने उपाय कानूनी दण्ड मात्र होइन” उनी भन्छन्, “बालविवाह र बहुविवाहप्रति आम रूपमा घृणा पैदा गराउन सक्ने चेतनामूलक अभियान संचालन गरिनुपर्छ ।” त्यसका लागि वयस्क हुने क्रममा रहेको प्रत्येक नागरिकलाई जीवनोपयोगी शिक्षाका रूपमा विवाहबारेको सचेतना अभियानमा सामेल गर्नुपर्ने उनको सुझाव छ ।

कतै बहुविवाह वा बालविवाह भएको देखे पनि उजुरी पर्खिएर बस्ने प्रहरीको रवैयाका कारण पनि यस्तो अपराध कम नभएको अधिवक्ता बस्नेतको धारणा छ ।

अपराध भएको देख्ने जो सुकैले प्रहरीलाई सूचना दिने र त्यस्तो सूचनामा प्रहरी र स्थानीय सरकारले सक्रियता बढाउने हो भने पनि यसमा कमी आउने उनी बताउँछिन् । भन्छिन्, “बालविवाह वा बहुविवाह भएको देखे पनि उजुरीमा नजानु, पहिचान भएका अभियुक्तलाई कारबाही नहुनु पनि ठूलो समस्या हो ।”

बालविवाह र बहुविवाहमा बन्देज लगाउने कानूनी व्यवस्था आम प्रचलनमा आउन सामाजिक सोचाइ, आनीबानी र संरचनामा परिवर्तन गर्नुपर्ने मानवशास्त्री डा. सुरेश ढकाल बताउँछन् ।

बहुविवाह र बालविवाहलाई रोक्नका लागि हाम्रो आर्थिक, सामाजिक संरचनामा कहाँ के अवरोधहरू छन्, तिनको पहिचान गरेर त्यसै अनुसारको उपचारमा जानुपर्ने उनको सुझाव छ ।

हिजोआज रोजगारीका लागि श्रीमान–श्रीमती बेग्लाबेग्लै बस्नु पनि बहुविवाहको कारण बन्न थालेको बताउने मानवशास्त्री ढकाल भन्छन्, “यसका लागि अलिक गतिलो सामाजिक अभियान आवश्यक देख्छु, जुन सरकारी कार्यक्रमकै रूपमा आउनुपर्छ ।”

समाजमा भयावह हुँदै गएको बालविवाह र बहुविवाह रोक्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग भने त्यस लक्षित कार्यक्रम छैनन् । मन्त्रालयको समाज कल्याण तथा संघ–संस्था महाशाखाका प्रमुख वीरबहादुर राई भन्छन्, “बहुविवाह र बालविवाह रोक्न सरकारी कार्यक्रम कम भएको महसूस गरेका छौं ।” विवाह सम्बन्धी कसुर रोक्न बनेका कानूनको कार्यान्वयनसँगै लक्षित समुदाय केन्द्रित कार्यक्रममा ध्यान नपुग्नुलाई उनी सरकारको तर्फबाट भएको कमजोरी ठान्छन् ।

बालविवाह पनि उस्तै
१८ पुस २०७५ मा काठमाडौं थापाथलीस्थित प्रसूति गृहमा १३ वर्षीया बालिका गंगामाया चेपाङ सुत्केरी भइन् । मकवानपुरको राक्सिराङ गाउँपालिका–७ की गंगामायाले चार कक्षा पढ्दै गर्दा २०७४ माघमा छिमेकी गाउँका १७ वर्षीय किशोर रञ्जित प्रजासँग भागी विवाह गरेकी थिइन् ।

राक्सिराङ–७ का वडाध्यक्ष बुद्धिलाल तामाङ, चेपाङ समुदायमा रहेको बालविवाहको प्रचलनका पछाडि आर्थिक र सामाजिक कारण रहेको बताउँछन् । “यहाँका धेरैजसो चेपाङ घरहरूमा १४–१५ वर्षका बालिका–आमा प्रशस्तै देखिन्छन्” वडाध्यक्ष तामाङ भन्छन्, “बालिकाहरूलाई विद्यालयसम्म ल्याउन, आएपछि टिकाउन र विवाह गर्नबाट रोक्न ठूलो चुनौती छ ।” 

सामाजिक, आर्थिक रूपमा पछि पारिएका सीमान्तकृत समुदायमा कलिलैमा छोरीहरूको विवाह गर्ने चलन बढी देखिन्छ । झापाको कमल गाउँपालिका–२ को एउटा सन्थाल बस्तीमा रजस्वला हुनुअघि नै छोरी अन्माउने प्रचलनले गर्दा २४ घर भएका त्यस बस्तीका कुनै पनि छोरीले १० कक्षा उत्तीर्ण गरेका छैनन् । 

प्राथमिक कक्षामा भर्ना भएका सन्थाल बालिकाहरूको संख्या कक्षा उक्लिंदै गर्दा घट्दै जाने बस्ती नजिकैको कमला मदन आश्रित स्मृति माविका प्रधानाध्यापक हिमप्रसाद दाहाल बताउँछन् । उनी भन्छन्, “विद्यालय नजिकैको आदिवासी बस्तीका नानीहरूको ९–१० कक्षा नपुग्दै विवाह भइसक्छ ।”

गरीबी, अशिक्षा र पछौटेपनको शिकार भएका सीमान्तकृत समुदाय, विपन्न वर्ग र दुर्गमका क्षेत्रमा कलिलै उमेरमा विवाह गरिदिने चलन देशका धेरै ठाउँमा छ ।

१ भदौ २०७५ मा लागू भएको फौजदारी अपराध संहितामा २० वर्षभन्दा कम उमेरमा गरिएको विवाह बदर हुने प्रावधान छ । तर, त्यस्ता दम्पतीबाट जन्मिएका सन्तानलाई भने अंश हक हुने संहिताले व्यवस्था गरेको छ । कानूनको यो व्यवस्थाले पनि बालविवाह न्यूनीकरणमा खासै प्रभाव पार्न सकेको छैन । 

अलमल्याउने पाठ्यक्रम
बालविवाह र बहुविवाह जस्ता सामाजिक अपराध विरुद्ध चेतना विस्तार गर्न विद्यालयका पाठ्यक्रममा त्यस्ता विषयवस्तु समावेश गरिन्छन् ।

तर, कक्षा १० को नेपाली विषयमा बालविवाहलाई स्वाभाविक रुपमा व्याख्या गरिएको कथाकार गुरुप्रसाद मैनालीको कर्तव्य कथा समावेश छ । मैनाली निःसन्देह राम्रा कथाकार हुन्, नेपाली कथाको इतिहास र तत्कालीन समाज बुझाउन पनि उनका कथा पाठ्यक्रममा समावेश गरिनु राम्रो हो ।

तर, १५ वर्षीय किशोर शशिधरको विवाह कुलीन घरकी सुशील किशोरीसँग भएको प्रसंग उल्लिखित उक्त कथा विद्यालयका बालबालिकाका लागि कति सान्दर्भिक छ, पाठ्यक्रम विकास गर्नेले ध्यान पुर्‍याउन सकेका छैनन् ।

बालविवाह र बहुविवाह भएका दृष्टान्त समेटिएका कथा–कृतिहरूले समाजको अवस्था झल्काए पनि विद्यालयका बालबालिकाका लागि त्यस्तो सामग्री उचित नभएको काठमाडौं कालीमाटीस्थित नीलबाराही माविकी प्रधानाध्यापक डा. जानुका नेपाल बताउँछिन् । भन्छिन्, “कलिला छात्रछात्रालाई जीवनोपयोगी र ग्रहण गर्न लायक सन्देश भएका पाठ्यवस्तु मात्र दिइनुपर्छ, तर पाठ्यक्रम विकास केन्द्रले यसतर्फ ध्यान दिएको छैन ।”

पाठ्यवस्तुले दिने सन्देशबारे आवश्यक बहस हुन नसकेको स्वीकार्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेल भन्छन्, “उक्त कथाले दिने सन्देशबारे अब केन्द्रमा छलफल हुन्छ ।”

भिसा पाएका थिएनन्, राजा त्रिभुवनले
बालविवाह र बहुविवाहलाई विकसित समाजमा अपराध र अपसंस्कृतिको रुपमा चित्रित गरिन्छ । यही अवधारणाका आधारमा विकसित मुलुकहरूले बालविवाह र बहुविवाहलाई दशकौंअघि नै बन्देज लगाइसकेका थिए ।

दुई रानीका साथ राजा त्रिभुवन । तस्वीर स्रोतःमदन पुरस्कार पुस्तकालय

करीब सात दशकअघि उपचारका लागि अमेरिका जान चाहेका तात्कालीन राजा त्रिभुवनले बहुविवाह गरेकै कारण भिसा (प्रवेशाज्ञा) पाएका थिएनन् । सन् १९५४ को नोभेम्बरमा राजा त्रिभुवन उपचारका लागि अमेरिका जाने कार्यक्रम तय भएको थियो ।

तर, उनको योजनामा तगारो बनिदियो त्यसको दुई वर्षअघि नै जारी भएको अमेरिकाको अध्यागमन र राष्ट्रियता सम्बन्धी कानूनको खण्ड २१२, जसमा ‘एकसाथ दुई पत्नी वा पति भएका व्यक्ति’ लाई भिसा नदिने व्यवस्था गरिएको थियो ।

४ नोभेम्बर १९५४ को न्यूयोर्क टाइम्स ले राजा त्रिभुवन अमेरिका जाने कार्यक्रममा त्यहाँको कानून अवरोध भएपछि अमेरिकी अधिकारीहरू ‘नेपालका राजालाई अमेरिकामा स्वागत गर्नका लागि अन्य उपायबारे छलफलमा रहेको’ समाचार प्रकाशित गरेको थियो । 

उक्त विषयमा एकै महीनाभित्रै दुईवटा समाचार प्रकाशित गरेको पत्रिकाको ३० नोभेम्बर १९५४ मा प्रकाशित समाचारमा ‘एक पत्नी भएको व्यक्तिलाई मात्र प्रवेशाज्ञा दिने अमेरिकी कानूनका कारण’ राजा त्रिभुवनको अमेरिका भ्रमण स्थगित भएको पनि उल्लेख छ ।

न्यूयोर्क टाइम्स को उक्त समाचारमा राजा त्रिभुवनका तात्कालीन सैनिक सचिव लेफ्टिनेन्ट जनरल वाईबी राणाको प्रतिक्रिया पनि समावेश छ, जसमा राणाले ‘राजा कहिल्यै विधुर रहन र निसन्तान हुन नपरोस् भनेर दुईवटी महारानीसँग विवाह गरेको’ बताएका छन् ।

अमेरिका जान नमिल्ने भएपछि उपचारका लागि स्विट्जरल्याण्ड गएका राजा त्रिभुवनको १३ मार्च १९५५ मा स्विट्जरल्याण्डमै निधन भएको थियो ।

 

प्रतिकृया दिनुहोस