समाचारबिहिबार, २ श्रावण , २०७६

मलेशियामा रहेका नेपाली लगायत गैरकानूनी आप्रवासीले आममाफी पाउने

रामु सापकोटा

मलेशिया सरकारले गैरकानूनी रूपमा बसिरहेका आप्रवासीलाई आममाफी दिने भएको छ । 

मलेशियाका गृहमन्त्री तान श्री मुहिद्दिन यासिनले गैरकानूनी रूपमा बसेका आप्रवासीलाई आममाफी दिएर घर फर्कन दिने घोषणा गरेका हुन् । 

बिहीबार अध्यागमन विभागमा आयोजित कार्यक्रममा मन्त्री यासिनले त्यसका लागि ‘प्रोग्राम ब्याक टु गुड’ नामको कार्यक्रम सञ्चालन हुने बताए।

गृहमन्त्री यासिन भन्छन्, “मलेशियामा रहेका गैरकानूनी आप्रवासी कामदारलाई स्वेच्छाले अध्यागमन विभागमा आउने अवसर दिएका छौं । त्यसका लागि उनीहरूले सात सय मलेशियन रिंगिट तिर्नुपर्छ ।”

आममाफीको उक्त कार्यक्रम मेलशियाको अध्यागमन विभाग मार्फत हुने भएकाले अन्य एजेन्ट वा बिचौलिया संलग्न नहुने उनको भनाइ छ ।

उक्त कार्यक्रम आउँदो १ अगस्तदेखि ३१ डिसेम्बर २०१९ सम्म लागू हुनेछ ।  

यस अविधिभित्र मलेशियामा रहेका अवैधानिक आप्रवासी कामदार पनि नेपाल फर्किन पाउने छन् ।

प्रक्रियागत रूपमा घर फर्किन चाहेका अवैधानिक कामदारले पासपोर्ट, दूतावासले दिएको ट्राभल पास र सात दिनभित्र घर फर्किने टिकट समेत पेश गर्नुपर्ने छ ।

गृह मन्त्रालयका अनुसार यो वर्षको ३१ डिसेम्बरसम्म मात्र लागू हुने आममाफी कार्यक्रमको समय थप हुने छैन ।

गैरकानुनी रूपमा बसिरहेका आप्रवासी कामदारलाई घर फिर्ता गर्ने कामको सहजीकरणका लागि मलेशियाको अध्यागमन विभागले विभाग मातहत ८० वटा काउन्टर र दुई सय कर्मचारी कर्मचारी खटाउने छ ।

मन्त्रालयले सन् २०२० को शुरुवातसँगै गैरकानूनी रूपमा बसिरहेका आप्रवासीमाथि कारवाही अघि बढाइने जनाएको छ ।

प्रतिकृया दिनुहोस