सम्पादकीयबिहिबार, २ श्रावण , २०७६

जोगाऔं स्वाद सम्पदा

भाेजन भ्रमण २०७६ : लाेक परिकार विशेष

किरण नेपाल

‘पर्यटन प्रवर्द्धन र पहिचानका लागि’ भ्यूटावर र मूर्ति निर्माणलाई तीव्रता दिइरहेका स्थानीय र प्रदेश सरकारहरूले पनि बुझ्नु जरूरी छ, हाम्रा गाउँठाउँ घुम्न आउने पर्यटकलाई अनावश्यक संरचनाले भन्दा हाम्रा सांस्कृतिक र परम्परागत परिकारले बढी आकर्षित गर्नेछन्।

अघिल्लो साता नियमित जसो भएको वर्षाले केही भरथेग गरे पनि ढिलो शुरू भएको मनसुनका कारण यो वर्ष धानको उत्पादन अघिल्लो वर्षभन्दा कम हुने निश्चित छ । धान लगायतका कृषिजन्य उत्पादनमा कमी आउँदा त्यसको प्रभाव देशको आर्थिक वृद्धिदरमा पनि पर्छ ।

धान मात्रै होइन हाम्रा अन्य रैथानेबाली उत्पादकत्व कम भएकै कारण लोपोन्मुख छन्, कति लोप भइसके । रैथाने बाली लोप हुँदा तिनबाट बन्ने परिकार र गाँसिएको संस्कृति पनि हराउँछ । लगानीको प्रतिफल नउठ्ने भएपछि किसानले त्यस्ता बाली जोगाइरहन सक्दैनन् । यसका लागि राज्यले नै पहल गर्नुपर्छ ।

संविधानले नागरिकको खान पाउने अधिकारलाई मौलिक हकका रूपमा व्याख्या गरे अनुसार संसदले एक वर्षअघि नै ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन’ पारित गरिसकेको छ । ऐनले भोकमरी नियन्त्रण र जनताको खाद्य सुरक्षाका लागि थुप्रै प्रगतिशील प्रावधानहरूको व्यवस्था गरेको छ । 

तर, संविधान कार्यान्वयनका लागि ऐन निर्माण गर्नै पर्ने बाध्यता पूरा गरेको सरकार यसको कार्यान्वयनमा भने हदैसम्म उदासीन छ । आश्चर्य चाहिं, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज समेत ऐन कार्यान्वयनमा सरकारलाई दबाब दिन आवश्यक ठानिरहेका छैनन् । नागरिकको खान पाउने अधिकार सुरक्षित भएसँगै सन्तुलित, स्वस्थ र स्वादिष्ट परिकारको बहसले गति लिन्छ ।

हिमाल को यो अंक हामीले ‘लोक–परिकार विशेष’ बनाउने जमर्को गरेका छौं । नेपाल पर्यटन बोर्डको सहयोगमा मेची–महाकालीका ४० जिल्लाका रैथाने परिकार खोज्दै, तिनलाई वैश्विक परिकार बनाउन सकिने सम्भावना खोतल्दै परिकारसँग जोडिएको भूगोल, जाति, संस्कृतिको कथा भन्ने प्रयास गरेका छौं ।

कतै संस्कृतिमा आधारित परिकार त कतै परिकारमा आधारित संस्कृति, कतै परिकारले बनाएको स्थाननाम त कतै स्थानले दिलाएको परिकार– हाम्रा परिकार हाम्रा सम्पदा हुन् । हाम्रा परिकारबारे लेखिएका पुराना अभिलेख नगण्य छन् । खासगरी मौखिक इतिहासमा बाँचेका पाककला र यससँग सम्बन्धित खाद्यान्न सामग्रीबारे ज्ञानको पुस्ता हस्तान्तरण नहुँदा समयक्रममा कति परिकार हराएर गए, कति हराउने क्रममा छन् । 

हाम्रा लोक–परिकारहरूले घरका भान्साबाट निस्केर रेस्टुरेन्टमा प्रवेश गर्न, तिनलाई केही परिमार्जन गरी नेपाली मौलिकता सहितको वैश्विक परिकार बनाउन सकियो भने नेपाली पहिचान अझ् समृद्ध बन्ने छ । यसका लागि हामीमा परिकार चेतना बढ्नु आवश्यक छ । यस्तो चेतना जसले परिकार चाखेर स्वादको वयान मात्र होइन, त्यसको इतिहास र महत्वको जानकारी पनि देओस् ।

१९९५ सालमा सरकारी ‘उद्योग कार्यालय’ द्वारा प्रकाशित, लक्ष्मीनन्दन शर्मा चालिसे लिखित पाकशिक्षा–पाकशास्त्रको अद्वितीय पुस्तक का तीनवटा भागमा त्यो समयका परिकार र पकाउने विधि संक्षिप्तमा बताइएको छ, जुन पाकशिक्षाकै बारेमा लेखिएको सम्भवतः पुरानो नेपाली पुस्तक हो । तर, ज्योतिर्मयी ठाकुरको हिन्दी पुस्तकमा आधारित उक्त पुस्तकमा ती परिकारको सांस्कृतिक इतिहास समेटिएको छैन, रैथाने परिकारको खोजी पनि गरिएको छैन ।

पछिल्लो समय आदिवासी, जनजाति समुदायमा आफ्नो संस्कृतिबारे सोधखोज निकै बढेको छ । तर, आफ्नो भूगोल, रैथाने वनस्पति, जडीबुटी, तिनबाट बनाउने परिकार, औषधिजन्य प्रयोग, जलवायु परिवर्तनले तिनमा पारेको प्रभाव जस्ता विषयमा कमै मात्र चर्चा भएका छन् । आफ्नो मौलिकताप्रति गर्व गर्ने नेपालीले त्यसका आधारहरूमध्येको एक परिकारलाई दस्तावेजीकरण गर्नु ढिला भइसकेको छ ।

लोक–परिकारसँगै जोडिन्छ, रैथाने खाद्यान्न । विभिन्न भूगोलमा फल्ने खाद्यान्नकै आधारमा परिकार र स्वाद निर्धारण हुन्छ । खाद्यान्न र स्वादलाई गाँस्ने पाककलाले हो । कुन खाद्यान्नबाट, कसरी परिकार तयार गरिन्छ त्यसैको आधारमा स्वाद बन्दछ । र, यही स्वादले आफ्नो लोकप्रियता विस्तार गर्छ ।

हाम्रा लोक–परिकारहरूले घरका भान्साबाट निस्केर रेस्टुरेन्टमा प्रवेश गर्न, तिनलाई केही परिमार्जन गरी नेपाली मौलिकता सहितको वैश्विक परिकार बनाउन सकियो भने नेपाली पहिचान अझ् समृद्ध बन्ने छ । यसका लागि हामीमा परिकार चेतना बढ्नु आवश्यक छ । यस्तो चेतना जसले परिकार चाखेर स्वादको वयान मात्र होइन, त्यसको इतिहास र महत्वको जानकारी पनि देओस् ।

‘पर्यटन प्रवद्र्धन र पहिचानका लागि’ भ्यूटावर र मूर्ति निर्माणलाई तीव्रता दिइरहेका स्थानीय र प्रदेश सरकारहरूले पनि बुझनु जरूरी छ, हाम्रा गाउँठाउँ घुम्न आउने पर्यटकलाई अनावश्यक संरचनाले भन्दा हाम्रा सांस्कृतिक र परम्परागत परिकारले बढी आकर्षित गर्नेछन् । मौलिक परिकारलाई परिमार्जनसँगै बजारीकरण गर्न सकियो भने त्यसले रोजगारी सिर्जना मात्रै होइन स्थानीय अर्थतन्त्रमै महत्हवपूर्ण योगदान दिन सक्नेछन् ।

रैथाने खाद्यान्न जोगिए मात्र स्वादिला परिकार बचाउन सकिन्छ । यस्तो दिन नआओस्, हामी हाम्रै गाउँघरका रैथाने बालीनाली बिर्सिएर आयातित खाद्यान्न र तयारी खानाको स्वादको मोहजालमा फसौं ! 

 

पढ्नुहाेस् 
चुलाको सेरोफेरो 

लोक परिकारको स्वाद

सात प्रदेश साझा परिकार

प्रतिकृया दिनुहोस