१८ औं दिनमा विकास तिवारीले अनशन तोडे
अञ्चल अस्पताल सप्तरीमा सुधारको माग गर्दै १८ दिनदेखि अनशनरत विकास तिवारीले सरकारसँगको सम्झौतापछि अनशन तोडेका छन् ।
आज स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा सरकार र तिवारीबीच चारबुँदे सहमतिपत्रमा हस्ताक्षर भएपछि तिवारीले अस्पतालमा उपचाररत बालिकाको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।
सहमतिमा एक महिनाभित्र गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सप्तरीमा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक सरकारले खटाउने, अस्पतालको अनियमितता सम्बन्धमा स्वास्थ्यमन्त्रालयले सात दिनभित्र उच्चस्तरीय छानबीन समिति गठन गर्ने, समितिको प्रतिवेदनले दोषी ठहर गरेकालाई कारवाही गर्ने लगायतका बुँदा छन् ।
सदभावना पार्टी गजेन्द्रवादीका अध्यक्ष समेत रहेका तिवारी ८ मंसीरदेखि अनशनमा थिए । उनका मागबारे सरकार केही दिनअघि नै सहमत भए पनि तिवारीले स्वास्थ्यमन्त्री सप्तरी पुगेपछि मात्रै अनशन तोड्ने बताएपछि अनशन लम्बिएको थियो ।