समाचारमंगलबार, ३१ आषाढ , २०७६

नेकपाको एकता प्रक्रिया टुंगिएको दाबी, ५ गतेको सचिवालय बैठकले अनुमोदन गर्ने

हिमालखबर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकता प्रक्रियाका सबै विषय टुंगो लगाएको छ । 

पुष्पकमल दाहाल र केपी शर्मा ओली । फाइल तस्वीर ।

पार्टीका दुई अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले एकताका लागि बाँकी रहेका सबै काम टुंगो लगाएका हुन् ।

नेकपा सम्बद्ध स्रोतका अनुसार बालुवाटारमा भएको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन, जिल्ला इन्चार्ज र सह–इन्चार्ज, जनसंगठनका प्रमुख, उपप्रमुख, केन्द्रीय आयोग, केन्द्रीय विभाग, विशेष प्रदेश, विशेष जिल्ला लगायतको नेतृत्व टुंगो लागेको छ ।

“दुई अध्यक्षबीच बाँकी रहेका सबै विषयमा सहमति भएको छ”, स्रोतले भन्यो, “५ गते सचिवालय बैठक बसेर अनुमोदन गरेपछि घोषणा हुने छ।”

बैठकमा महासचिव विष्णु पौडेल तथा गृहमन्त्री रामबहादुर थापा (बादल ) समेत सहभागी थिए ।

पूर्वएमाले सम्बद्ध नेकपाका एक केन्द्रीय सदस्यले दुई अध्यक्षबीचको सहमति पार्टी सचिवालय बैठकमा प्रस्तुत हुने र बैठकले स्वीकृत गरेमा एकताको टुंगो लागेको घोषणा गरिने बताए । “सचिवालय बैठकमा दुई अध्यक्षका सबै सहमति स्वीकृत हुन्छन भन्नेपनि छैन, स्वीकृत भयो भने एकता प्रकृया टुंगो लाग्छ ”, उनले भने ।

प्रतिकृया दिनुहोस