विषादी परीक्षण नगरी भारतीय तरकारी नल्याउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले यसअघि दिएकाे विषादी परीक्षण नगरी भारतीय तरकारी नल्याउनू भन्ने अन्तरिम आदेशलाई नै निरन्तरता दिन आदेश दिएको छ।
मंगलबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दुवै पक्षसँग छलफल गरी यसअघि दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णयका विरूद्ध तीनवटा रिट सर्वोच्च अदालतमा दर्ता भएका थिए । मंगलबार दुवै पक्षलाई छलफलका लागि अदालतले बोलाएको थियो ।
उक्त छलफलपछि अदालतले अन्तरिम आदेशलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
यसअघि तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले १८ असारको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।