समाचारमंगलबार, ३१ आषाढ , २०७६

नेपालमा बढी २०० मेगावाट विद्युत् भारत पठाइयो

रासस

देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि सरकारले बढी भएको विद्युत् भारत पठाई ‘इनर्जी ब्याङ्किङ’को अभ्यास शुरु गरेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले असार २७, २८ र २९ गते दैनिक १५० मेगावाट विद्युत् भारत पठाइएको बताए । मन्त्री पुनले गएराति (असार ३० गते) मात्रै २०० मेगावाट विद्युत् भारत पठाइएको बताएका छन् ।

नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता र इनर्जी ब्याङ्किङको अवधारणानुसार नै यहाँ बढी भएको विद्युत् भारत पठाइएको उनको भनाइ छ ।

अविरल वर्षाका कारण विशेष गरी प्रदेश नं १ र २ मा विद्युत् माग घट्न गएकाले बढी भएको विद्युत् भारत पठाइएको हो । देशभर हाल एक हजार २१५ मेगावाट विद्युत् माग रहेको छ ।

बाढी र वर्षाले विद्युत् माग घटेर ६०० मेगावाटको हाराहारीमा सीमित हुन पुगेको छ । सोमबार मात्रै विद्युत् माग बढेर एक हजार १२५ मेगावाटको हाराहारीमा पुगेको थियो ।

विद्युत् खेर जान नदिन दुई देशबीच भएको सम्झौतानुसार नै विद्युत् भारत पठाइएको हो । मन्त्री पुनका अनुसार रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइन र कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् भारत पठाइएको हो ।

यस्तै अन्य सात विन्दुबाट पनि यता बढी भएको विद्युत् भारत पठाइएको हो । ती प्रसारण लाइनमार्फत विद्युत् आयात तथा निर्यात दुवै गर्न सकिन्छ ।

“उत्पादित विद्युत् खेर नजाओस् र दुई देशबीच आगामी दिनमा समेत विद्युत् व्यापार गर्ने मार्ग प्रशस्त होओस् भन्ने लक्ष्यका साथ हामीले अभ्यास गर्‍यौँ”, मन्त्री पुनले भने, “यसले आगामी दिनमा थप विद्युत् व्यापारका लागि समेत मार्ग प्रशस्त गर्न सहयोेग पुग्छ ।”

नेपाल र भारतबीच इनर्जी ब्याङ्किङ गर्ने सहमति यसअघि नै भइसकेको छ । यस्तै इनर्जी ब्याङ्किङ, दैनिक व्यापार तथा विद्युत् आदानप्रदानका लागि समेत थप सहज भएको छ ।

आगामी आवमा माथिल्लो तामाकोशी ४५६ मेगावाट, रसुवागढी १११ मेगावाटलगायत सरकारी तथा निजी क्षेत्रका आयोजना निर्माण सम्पन्न हुने छन् । दुई देशबीच सन् २०१४ मा नै विद्युत खरीद विक्रीसम्बन्धी ‘पावर ट्रेड एग्रिमेन्ट’ भइसकेको छ ।

प्रतिकृया दिनुहोस