इङ्ल्याण्डले विश्वकप जित्दा बेन स्टोक्स ‘नायक’, बुबा भने ‘घृणित पात्र ’!
यता इङ्ल्याण्डमा बेन स्टोक्सले ‘राष्ट्रिय नायक’को सम्मान पाइरहेका छन् भने उनका बुबा गेरार्ड स्टोक्स ‘न्युजिल्याण्डकै घृणित पात्र’।
कसरी ?
जब छोरा स्टोक्स इङ्ल्याण्डका लागि पहिलो विश्वकप क्रिकेटको उपाधि जिताउन ‘गर या मर’को अवस्थामा ब्याटिङ गरिरहेका थिए, उनका बुबा भने न्युजिल्याण्डको जितका लागि प्रार्थना गरिरहेका थिए ।
जेरार्डलाई छोराको प्रदर्शनमा गर्व त लागिरहेको थियो नै तर उनी चाहन्थे आइतबारको फाइनल न्युजिल्याण्डले जितोस् ।
यसो किन भने बेन स्टोक्सको जन्म सन् १९९१ मा न्युजिल्याण्डकै क्राइष्टचर्चमा भएको थियो । उनका बुबा, आमा सबै अहिले न्युजिल्याण्डमै बस्छन्।
न्युजिल्याण्डका पूर्व राष्ट्रिय रग्बी खलाडीसमेत रहेका बुबा जेरार्ड इङ्ल्याण्डको वर्किङटन टाउनको रग्बी प्रशिक्षक नियुक्त भएपछि १२ वर्षको उमेरमा बेन न्युजिल्याण्डबाट इङ्ल्याण्ड आएका थिए ।
त्यसपछि बेनले क्रिकेट इङ्ल्याण्डमै सिके ।
सन् २०१३ मा भने बुबा जेरार्ड न्युजिल्याण्ड फर्किए ।
न्युजिल्याण्डको हारपछि सोमबार एक खेलकुद वेबसाइटसँग कुरा गर्दै गेरार्डले ठट्टा गर्दै ‘अहिले आफू न्युजिल्याण्डकै सबैभन्दा घृणित पिता’ बनेको बताएका छन् ।
विश्वकप फाइनलको नाटकीय खेलमा इङल्याण्डले बाउन्ड्रीका आधारमा जित हासिल गरेको थियो ।
खेलमा पहिलो ब्याटिङ गर्दै न्युजिल्याण्डले २४१ रनको स्कोर बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा खेल बराबरी भएको थियो । र, सुपर ओभरमा लम्बिएको थियो ।
सुपर ओभरमा पनि दुबै टोलीले १५,१५ रनको बराबरी खेले । खेलमा न्युजिल्याण्डको १७ विरुद्ध २६ बाउन्ड्री प्रहार गरेको इङल्याण्डलाई विजयी घोषित गरिएको थियो ।
जसमा उनै बेन स्टोक्सले अविजित ८४ र सुपर ओभरमा समेत उत्कृष्ट ब्याटिङ गरेका थिए ।
जितपछि इङ्ल्याण्डका कप्तान इयान मोर्गनले बेनको प्रदर्शनलाई ‘लगभग सुपरहिरो’ कै शैली भनि प्रशंसा गरेका थिए । जबकि बेन अहिलेको इङ्ल्याण्ड टोलीका सबैभन्दा बढी अनुशासनको कारबाही भोगेका खेलाडी हुन् । –एजेन्सी