अर्थ/बजारसोमबार, ३० आषाढ , २०७६

पुल जोखिमपूर्ण भन्दै जोगबनीमै रोकिए भारतबाट आउने मालवाहक साधन

कमल रिमाल

लगातारको वर्षापछिको बाढीले भारत बिहार अररिया जिल्लाको जोगबनी नजिकै रहेको पुल जोखिममा परेको भन्दै शनिबार बेलुकादेखि मालवाहक साधन नेपाल पठाउन भारतले रोक लगाएको छ ।

विराटनगर भन्सार परिसरमा रोकिएका मालवाहक साधन । तस्वीरः कमल रिमाल

भारत तर्फबाट मालवाहक साधन नेपाल नभित्रिंदा विराटनगर भन्सार कार्यालयको राजश्व संकलन प्रभावित हुनुका साथै नेपाल तर्फका उद्योगमा कच्चा पदार्थको अभाव हुने देखिएको छ ।

भारत अररिया जिल्लाका अनुमण्डल अधिकारीले मिरगञ्जको फलामे पुल जोखिममा रहेको जनाउँदै सूचना जारी गरेर अनिश्चितकालका लागि मालवाहक साधनमा रोक लगाएका हुन्।

विराटनगर भन्सारका सूचना अधिकारी मणिराम पौडेलका अनुसार, दैनिक ३५० को संख्यामा माल सामान बोकेर आउने साधन आइतबार र सोमबार एउटै पनि आएनन् ।

“भारत तर्फबाट गाडी नछोडेको बारे हामीले भन्सार विभागलाई पनि जानकारी गराएका छौं”, पौडेलले भने, “दैनिक रु १५ करोड राजश्व संकलन हुने यस कार्यालयमा एक, दुई दिनमा राजश्व शून्यमा झर्न सक्छ ।”

विराटनगर भन्सार कार्यालयबाट ४ किलोमिटर दक्षिणमा रहेको मिरगञ्जको पुलबाट रित्तो ट्रकलाई भने आउ जाउ गर्न दिइँदै आएको छ । भारत प्रशासनले नेपालबाट निर्यात हुने बस्तु बोकेका ट्रकलाई पनि रोकेको उनले बताए ।

अधिकृत पौडेलका अनुसार, जोगवनी भन्सारले भने भण्टाबारी नाका भएर नेपालतर्फ आउने साधनलाई घुमाउने तयारी गरेको छ । जोगवनीदेखि बथनाहा हुँदै वीरपुरबाट कोशी ब्यारेजस्थित सेतुबन्द भन्सार भएर पुनः विराटनगर ट्रक ल्याउन १२० किलोमिटर बढी घुम्नुपर्ने हुन्छ ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले नाकामा भारत तर्फबाट गरिने अव्यवहारिक प्रयासले नेपालका उद्योगी, व्यवसायी पीडित हुने गरेको बताए । “यस किसिमका अवरोध रोक्न कूटनीतिक पहलको जरुरी छ”, अध्यक्ष मुन्दडाले भने–“हामीले पनि परराष्ट्र मन्त्रीलाई आग्रह गर्ने तयारी गरेका छौं ।” विराटनगर भन्सार हुँदै नेपालतर्फ आउने मालवाहक साधन रोकिँदा प्रदेशका सबै उद्योग प्रभावित भएको उनले बताए ।

हाल डुबानका कारण सुनसरी, मोरङ औद्योगिक करिडोरका ५ सय जति उद्योगमा क्षति पुगेको व्यापार संघले जनाएको छ । अहिले करिडोरका उद्योगहरू आंशिक रूपमा मात्रै चल्न सकेको मुन्दडाले बताए । मालवाहक साधन नआउँदा औद्योगिक कच्चा पदार्थ मात्रै हैन पेट्रोलियम पदार्थको पनि अभाव भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले पेट्रोलियमको आयात सहज बनाउने प्रयास थालेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार जोगवनीमा रोकिएका ट्याङ्कर भण्टाबारी भन्सार हुँदै ल्याउने वातावरण बनाइदिन आग्रह गर्दै सोमबार वाणिज्य मन्त्रालयलाई पत्राचार गरिएको छ ।

२०७४ को बाढीमा पनि मिरगञ्जको पुल धराम भएको भन्दै भारततर्फको प्रशासनले भण्टाबारी नाकाबाट मालवाहक साधन नेपाल पठाउँदा यहाँका उद्योगी व्यवसायीले लामो अवधि सास्ती भोग्नुपरेको थियो ।

 

प्रतिकृया दिनुहोस