विराटनगरका डुबान पीडितद्वारा दुई घण्टा चक्काजाम
डुबानको पानी निकासको माग गर्दै विराटनगर १५ का वासिन्दाले सोमबार कोशी राजमार्गमा चक्काजाम गरेका छन् ।
डुबानका कारण घर पस्नसमेत नपाएपछि स्थानीयले राजमार्ग अवरोध गरेका हुन् ।
डुबानबाट नेपाल बैंक रोड, पारिजात टोल, चौधरी टोल, हरिनगरभट्टा टोल लगायत करिब ५ सय घर प्रभावित छन् ।
चक्काजाम गरेका स्थानीयसँग नगरप्रमुख भीम पराजुलीले पानीको निकासको पहल गर्ने आश्वासन दिएका छन् । नगरप्रमुखको पहलपछि दुई घण्टापछि अवरोध खुलेको थियो ।
स्थानीयले कोशी राजमार्ग कटान गरेर भए पनि पानीलाई निकास दिनुपर्ने माग गरेका छन् ।
विराटनगरका १, २, ४, ५, ८, १२, १५, १६, १८, १९ लगायतका वडाका विभिन्न ठाउँमा डुबान कायम छ ।
नगरका पानी निकास हुने नालाहरु निर्माणाधीन रहेकाले पनि डुबान क्षेत्रको पानी सुक्न सकेको छैन ।