भारतको बिहारमा बाढीकाे खतरा, चारकाे मृत्यु, १८ लाख मानिस प्रभावित
नेपालमा भारी वर्षा र बाढीपहिरोले ठूलो धनजनको नोक्सान गरेपछि भारतको बिहारमा पनि बाढीले लाखौं मानिस प्रभावित भएको जनाइएको छ ।
अहिलेसम्म चारजनाको मृत्यु र १८ लाख मानिस बाढीबाट प्रभावित भएको बीबीसीले जनाएकाे छ ।
बिहारका सीतामढी, मुजफ्फरपुर, पूर्वीचम्पारण, अररिया, सुपौल, किसनगञ्ज र शिवहर बाढीको चपेटामा परेको जनाइएको छ ।
नेपालमा भइरहेको भारी वर्षा र वीरपुर बाँधबाट छोडिएको पानी बाढीको कारण बताइएको छ ।
शनिबार साँझ बाँधका सबै ५६ वटा ढोका खोलिएकाले कोशी, गण्डक, र बागमतीको जलस्तर बढेको बताइएको छ ।
बागमती नदीमा जलस्तर बढ्नाले उत्तर बिहारको सीतामढी र शिवहरका २०० गाउँ बाढीसँग जुझिरहेको बताइएको छ । हजारौं मानिस सरकारी क्याम्पमा आश्रय लिइरहेको बताइएको छ ।
आइतबार बिहारका मुख्यमन्त्री नीतीश कुमार, उपमुख्यमन्त्री सुशीलकुमार मोदी तथा राज्यका जल संसाधन मन्त्री सञ्जय झाले बाढीप्रभावित क्षेत्रको अवलोकन गरेको सञ्चारमाध्यमले जनाएका छन् । –एजेन्सी