असारमै भरियो कुलेखानी, जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन
लगातारकाे वर्षाका कारण मकवानपुरमा रहेको कुलेखानी जलविद्युत केन्द्रको जलाशय असारमै भरिएको छ ।
जलाशयमा गत वर्ष भर्षभरिमा १५२६ मिटर पुगेकाे पानीकाे सतह यस वर्ष आज बिहानसम्ममै उक्त विन्दुमा पुगेकाे छ ।
जलाशयमा अधिकतम १५३१ मीटरसम्म मात्रै पानी भण्डारण हुन सक्छ । त्यस क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन/चार दिनमै जलाशयमा पानीको सतह करिब २० मीटर बढेको छ ।
जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
“पानी पर्न भर्खर सुरु भएको छ, विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महिना अगाडि नै भरियो”,उनले भने ।
उनका अनुसार, विगतका वर्षहरुमा वर्षायाममा कुलेखानी विद्युतगृह चल्दैन थियो ।
अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाएर भारततर्फको विद्युतकाे आयातलाई घटाएको उनले जानकारी दिए ।
कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलाशयको पानीको सतह २ सेन्टिमीटर मात्रै घट्ने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
कुलेखानी बर्खाको पानी जम्मा गरी मुख्य रुपमा विद्युतकाे अध्याधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो ।
विद्युतकाे आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ ।
प्राधिकरणले अहिले ढक्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट मात्रै करिब १५० मेगावाट विद्युत् आयात गरिरहेको छ ।
अविरल वर्षका कारण तराईमा विद्युत माग घटेको छ । अहिले मुलुकभरको विद्युतकाे माग करिब ६ सय मेगावाट मात्रै छ ।