याेजनाकाे मूल्यांकन विवादमा वडाध्यक्षले इन्जिनियर कुटे
याेजनाकाे मूल्यांकन विषयमा विवाद हुँदा सिन्धुलीको फिक्कल गाउँपालिका ५ का वडाध्यक्षले इन्जिनियरमाथि हातपात गरेका छन् ।
वडा कार्यालय भवनको मूल्यांकनमा धेरै रकम खर्च भएको देखाउन दिएको दवाव नमानेपछि वडाध्यक्ष राजु बरालले इन्जिनियर राकेश शाहमाथि हातपात गरेका हुन् ।
गाउँपालिका अध्यक्षको कार्यकक्षमा कर्मचारी, जनप्रतिनिधि र उपभोक्ताको बीचमै आफूमाथी हातपात भएको शाहले बताए ।
“झ्यालढोका राखेको खर्च यसबर्षको मूल्यांकनमा समावेश नगर्नू, त्यसका लागि अर्कोवर्षकाे बजेटबा६ खर्च गर्ने हो भन्नुभएको थियो”, उनले भने, “तर मैले मूल्यांकन गर्दा याे वर्षकाे बजेटले जति भेट्यो त्यो समावेश गरेपछि सार्वजनिक रुपमै हातपात गर्नुभयो ।”
नियमानुसार योजनाहरुमा १५ प्रतिशत श्रमदान अनिवार्य हुन्छ ।
वडाध्यक्ष बरालले भवन निर्माणमा जनताले गरेको श्रमदान नदेखाई श्रमदानको पनि ज्याला भुक्तानी गर्नेगरी मूल्यांकन गर्न भनेका थिए ।
तर इन्जिनियर शाहले श्रमदान अनिवार्य भएकोले आफू कानून मिचेर मूल्यांकन गर्न नसक्ने बताएका थिए । “नियमकानून हामी आफैं उल्लंघन गर्न मिल्छ त ? भनेर मैले नियमानुसारकाे काम गरेँ तर उहाँलाई चित्त बुझेन ”, उनले भने ।
हातपात भएपछि इन्जिनियर शाह भागेर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सुरक्षाका लागि जिल्लाबाट प्रहरी टोली गाउँपालिका कार्यालयमा पुगेको थियो ।
इन्जिनीयर शाह २ वर्षदेखि फिक्कल गाउँपालिकामा कार्यरत छन् ।
यस विषयमा बुझ्न खाेज्दा वडाध्यक्ष बरालले भने टेलिफोन उठाएनन् ।