कुलेखानीको जलाशय खोलिँदै, वाग्मती आसपासमा सचेत रहन आग्रह
अत्याधिक पानी परेका कारण खतराको सङ्केत देखिएपछि कुलेखानी जलविद्युत आयोजनाको बाँध खोलिने भएको छ ।
देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल इन्द्रसरोवर भनेर चिनिने कुलेखानी बाँधको ढोकाहरु खोल्न लागिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।
एक हजार ५३० घनमिटर पानी अट्ने क्षमता रहेको कुलेखानीमा आज बिहान ६ बजेसम्ममा एक हजार ५२५ दशमलव चार घनमिटर पानी भरिइसकेको छ ।
उत्तरी मकवानपुरको थाहा नगर, तथा इन्द्रसरोवर आसपास अत्यधिक पानी परिरहेको कारण जलासयमा क्षमताभन्दा बढी पानी भरिएपछि जिल्ला सुरक्षा समितिको बैठकले ढोका खोलेर जोखिम कम गर्ने तयारी थालेको प्रजिअ तामाङले बताए ।
बाँधको ढोका खोलीने भएपछि मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।
बाँधको ढोकाबाट निस्केको पानी कुलेखानीको पानी कुलेखानी खोला हुँदै वाग्मती खोला भएर बग्ने गर्दछ । जसले पानी निकाल्दा चार वटा जिल्लाका नदीनाला आसपासका क्षेत्र जोखिममा पर्ने प्रशासनले जनाएको छ ।
त्यहाँबाट बग्ने पानीले बाढीको खतरा हुने भएकाले सतर्क रहनका लागि आग्रह गरिएको हो ।
समुद्री सतहबाट ११४ मिटर उचाइमा रहेको कुलेखानीको जलासय तीन सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइको छ ।
३७ वर्षअघि बाँध बाँधेर जलासय बनाइएको थियो । जसबाट पहिलो र दोस्रो गरी ९२ मेगावाट क्षमताको कुलेखानी जलविद्युत् आयोजना सञ्चालनमा छन् ।