समाचारसोमबार, ३० आषाढ , २०७६

चिनियाँ लगानीकाे निर्माणाधीन सिमेन्ट उद्योग बाढीले बगायो, पाँच मजदूर फसे

रासस

धादिङमा निर्माणाधीन अवस्थामा रहेको चिनियाँ लगानीकाे ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ ।

बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिए ।

रातिको समयमा आएको बाढीका कारण पाँच जना मजदूर बाढीमा फसेका छन् ।

दुवैतर्फ खोला बगेकाले बीच भागमा रहेको फलामका पोलमा समातेर उनीहरु बचेका छन् । खोलामा फसेका मजदूरको उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट गएको टोली सो स्थानमा पुग्न सकेको छैन ।

ताल्ती जाने बाटो मलेखु नजिकै सोही खोलाले बगाएपछि उद्धारकर्मी रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रातभरि परेको वर्षाका कारण खोलामा फसेका मजदूरको स्थानीयवासी र ताल्तीमा रहेको प्रहरी टोलीले उद्धार गरिरहेको जनाएको छ ।

बाढीका कारण निर्माण भएका केही संरचना बगाएको छ । क्षतिको आँकलन गर्न सकिएको छैन । मानविय क्षति भएको छैन ।

रु १५ अर्बको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले सो उद्योग निर्माण शुरु गरेको चार महीना भएको छ ।

नौ महीनामा निर्माण सम्पन्न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण शुरु भएको थियो ।

प्रतिकृया दिनुहोस