क्रिकेटको जन्मभूमि इङ्ल्याण्ड चार दशकपछि विश्वकप उपाधि, ‘अभागी’ न्युजिल्याण्ड
सायद विश्वकप क्रिकेटको फाइनल स्पर्धा यति तनावपूर्ण र रोचक कहिल्यै भएको थियो ।
आइतबार इङल्याण्ड र न्युजिल्याण्डको खेल यस्तै भयो ।
टस जितेर पहिले ब्याटिङ गर्दै न्युजिल्याण्डले भारतविरुद्धको सेमिफाइनलमा झैं २४१ को सामान्य स्कोर बनायो । भारतसँगभन्दा केवल २ रन बढी ।
२४२ को लक्ष्य लिएर मैदानमा उत्रिएको इङल्याण्ड निर्धारित ५० ओभरमा १० विकेटको क्षतिमा २४१ मात्र बनाउन सक्यो ।
उसका दुई खेलाडी अन्तिम ओभरका पाँचौं र छैटौं बलमा रनआउट भए । बलर थिए, ट्रेन्ट बोल्ट ।
ब्याटिङमा अविजित ८४ रनका साथ खेलिरहेका थिए, बेन स्टोक्स । अन्तिम बलमा जितका लागि २ रन चाँहिने अवस्थामा १ रनमात्र सम्भव भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा उनै स्टोक्स र जोस बट्लरले बोल्टको बलिङमा १५ रन बनाए ।
न्युजिल्याण्डका तर्फबाट ब्याटिङमा मार्टिन गुप्तिल र जिम्मी निशाम आए । र, बलरमा थिए, जोफ्रा आर्चर ।
न्युजिल्याण्डले पनि १५ रननै जोड्न सफल भयो तर अन्तिम बलमा गुप्तिल एक रनसँगै रनआउट भए।
सुपर ओभरमा पनि खेल बराबरी भएपछि खेलको निर्णय दुबै टिमको कुल बाउन्ड्रीमार्फत गरिएको थियो । जसमा, १७ विरुद्ध २६ बाउन्ड्री प्रहार गरेको इङल्याण्डलाई विजयी घोषित गरिएको थियो ।
उस्तै रणनीति, झण्डै उही नतिजा
फाइनलमा न्युजिल्याण्डले सेमिफाइनलमा भारतविरुद्धको खेलकै रणनीति अपनाएको देखिन्थ्यो ।
भारतसँग झैं आइतबार पनि न्युजिल्याण्डले टस जितेर ब्याटिङ नै रोजेको थियो । तर, फेरि पनि ब्याटिङ सोचेजस्तो भएन ।
कम स्कोर बनाएर पनि भारतलाई २२१ मै अलआउट गरेको न्युजिल्याण्डसँग पुनः सेमिफाइनलकै शानदार बलिङ गर्नुपर्ने चुनौती थियो, जसमा पहिलोक्रमका ३ ब्याट्समेनलाई न्युजिल्याण्डका बलरहरुले शुरुको ३.१ ओभरमै पभेलियन पठाएका थिए ।
न्युजिल्याण्ड त्यही शैलीको जितको खोजीमा थियो । तर, दिन उही थिएन । प्रतिस्पर्धी पनि उही थिएन ।
२९ रनमा ओपनर मार्टिन गुप्तिललाई गुमाएको न्युजिल्याण्डका लागि हेन्री निकोलस र कप्तान केन विलियम्सन्ले ७४ रनको साझेदारी गर्दै टिमलाई २२.४ ओभरमा १०३ रनको स्कोरमा पु¥याएका थिए ।
तर, केन ३० रन र निकोलस ५५ रनमा आउट भएसँगै न्युजिल्याण्ड रक्षात्मक भएको थियो । विकेटकिपर टम लान्थमले दोस्रो सर्वाधिक बढी ४७ रन बनाए ।
न्युजिल्याण्डका लागि रस टेलरले १५, जेम्स निशामले १९, कोलिन डी ग्राण्डहोमीले १६, मिचेल सान्टनेरले ५, माट हेन्रीले ४ रन बनाए ।
इङ्ल्याण्डका लागि क्रिस वक्र्स र लियाम प्लनकेट उत्कृष्ट बलिङ गरे । वक्र्स र प्लनकेट दुबैले ३, ३ विकेट लिए । जोफ्रा आर्चर र मार्क उडको नाममा १, १ विकेट रह्यो ।
नायक बने बेन स्टोक्स र जोस बट्लर
मध्यक्रमका ब्याट्समेन बेन स्टोक्स र जस बट्लरको बहादुरीले इङ्ल्याण्डको एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जित्ने चार दशकको सपना आज बल्ल पूरा भएको छ ।
स्टोक्स र बट्लरले निर्धारित ५० ओभरको खेलमा ११० रनको साझेदारी गरे । बट्लरले ५९ रन बनाए । स्टोक्स ८४ रनमा अविजित थिए ।
सन् १९७९, १९८७ र १९९२ मा फाइनलमा पुगेर उपाधिबाट बञ्चित भएको इङ्ल्याण्ड यसवर्ष भने अभागी रहेन ।
न्युजिल्याण्ड भने लगातार दोस्रोपटक फाइनलमा पराजित भयो । न्युजिल्याण्डले सन् २०१५मा भएको विश्वकपमा अष्ट्रेलियासँग घुँडा टेकेको थियो ।