बाढीपहिरो प्रभावितकाे उद्धार र राहत तत्काल, क्षतिको विवरण आएपछि पुनर्स्थापना र पुनर्निर्माण
सरकारले बाढीपहिरो प्रभावितहरुको उद्धार, राहत, उपचार एवं बसोबासको प्रबन्ध तत्काल मिलाउने निर्णय गरेकाे छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले प्रशासनिक निकाय, सुरक्षा अङ्ग, निजी क्षेत्र, सामाजिक क्षेत्र तथा गैर-सरकारी संघसंस्थाहरुलाई समन्वयात्मक रुपमा परिचालन गरी उद्धार, राहात, उपचार एवं बसोबासको प्रबन्ध मिलाउन निर्देशन दिएकाे सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
उनका अनुसार क्षतिको यथार्थ विवरण आएपछि पुनर्स्थापना र पुनर्निर्माणको निर्णय लिने बताए । त्यसका लागि क्षतिको विवरण यथाशिघ्र तयार, मूल्याङ्कन गरी तथ्य र विवरण सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएकाे छ ।
विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत खानेपानी, सञ्चार लगायतका अत्यावस्यक सेवाहरु सुचारु गर्न र थप क्षती हुन नदिन सम्बन्धित निकायहरुले पूर्ण सतर्कता अपनाउने र कदमहरु चाल्ने व्यवस्था मिलाइएको मन्त्री बाँस्कोटाले बताए।
मन्त्री परिषदले प्रभावित क्षेत्रमा कुनैपनि रोगको प्रकोप फैलिन नदिन औषधी उपकरण सहित थप स्वास्थ्यकर्मीहरुको टोली तुरुन्त परिचालन गर्ने पनि निर्णय गरेको छ ।
घाइते, अपाङ्ग, अशक्त हुनेहरु तथा मृतकका परिवारका सदस्यहरुलाई सरकारले यथोचित व्यवस्था मिलाउन र यातायात आवागमनलाई सुचारु गर्न यातायात, रक्षा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयहरुले समन्वय गरी आवस्यक सबै कदहरु चाल्ने निर्णय गरेको उनले बताए ।
त्यसैगरी बैठकले उद्धार र राहत लगायतका कार्यहरुमा आवस्यक सहयोग पुर्याउन जनप्रतिनिधिहरुलाई आग्रह गरेकाे छ ।
मन्त्री बाँस्कोटाका अनुसार बाढी पहिरोका कारण १०३८५ घरधुरी विस्थापित भएका छन् भने ठूलो मात्रामा आर्थिक क्षति भएको छ ।
मन्त्रीपरिषदको बैठकले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै प्रभावित प्रति समवेदना र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।