ब्लगशनिवार, मंसिर २५, २०७३

जुम्ल्याहा गर्भको चुनौती

डा. सुमनराज ताम्राकार

दम्पती र परिवारजनका लागि जुम्ल्याहा गर्भ जति कौतुहलपूर्ण र आनन्ददायी हुन्छ, त्यतिकै चुनौतीपूर्ण।

निकै ढिलो विवाह गर्ने चलन र कृत्रिम गर्भाधानको सुविधाका कारण प्रसूति क्षेत्रमा नयाँ चुनौती थपिन थालेको छ। कृत्रिम गर्भाधानको सुविधाले जुम्ल्याहा हुने सम्भावना १४ र तिम्ल्याहाको सम्भावना ५४ गुणा बढाएको छ।

हेलिन (सन् १८९५) को नियम अनुसार, ८० जना गर्भवतीमध्ये एकजनाले जुम्ल्याहा, ६ हजार ४०० मध्ये एकजनाले तिम्ल्याहा र ५१ हजार २०० गर्भवतीमध्ये एकजनाले चम्ल्याहा बच्चा जन्माउँछन्, जुन अब पुरानो कुरा भइसक्यो। 

निषेचित डिम्ब गर्भाधानको ७२ घण्टाभित्र, ८ दिनभित्र, दुई हप्ताभित्र वा सोभन्दा पछि कहिले छुट्टिएको हो, त्यही आधारमा विभिन्न खाले जुम्ल्याहा गर्भको विकास हुन्छ।

गर्भाधानको दुई हप्तासम्म निषेचित डिम्ब छुट्टिएन भने टाउको, पेट, ढाड वा चाक जोडिएको 'कन्ज्वाइन्ट टि्वन' हुन सक्छ। दुई छुट्टै डिम्ब निषेचित भएको परिस्थितिबाट जन्मिएको जुम्ल्याहालाई मोनोजाइगोटिक भनिन्छ भने निषेचित भइसकेको डिम्ब दुइटा भ्रूणमा बाँडिएर बन्ने जुम्ल्याहालाई डाइजाइगोटिक भनिन्छ। तिम्ल्याहा र चम्ल्याहामा यही नियम लागू हुन्छ।

कारण र जटिलता
किशोरीवस्थामा सुस्त प्रकारको हुने डिम्बाशयको गतिविधि ३७ वर्षको हाराहारीमा पुगेपछि उत्कर्षमा हुन्छ। गर्भवतीको उमेर र गर्भ संख्या वृद्धिसँगै जुम्ल्याहा हुने सम्भावना बढ्दै जान्छ।

माइतीतर्फ कसैले जुम्ल्याहा पाइसकेको छ, गर्भवती महिला मोटी र अग्ली छिन् भने पनि जुम्ल्याहा हुने सम्भावना बढी हुन्छ। पिल्स खान छाडेलगत्तै गर्भ रहँदा पनि जुम्ल्याहा हुने सम्भावना बढ्छ।

डाइजाइगोटिक प्रकारको जुम्ल्याहामा दुइटा साल सँगै रहेका कारण जोडिएको देखिए पनि रगतका नसाहरू जोडिएका हुँदैनन्। मोनोजाइगोटिक प्रकारको जुम्ल्याहामा भने रगतका नसा जोडिएका कारण जटिलता पैदा गराउने हुन्छ। यस्ता गर्भमा शिशुको मृत्यु हुने सम्भावना पनि बढी हुन्छ।

मोनोजाइगोटिक गर्भावस्थाको समयसँगै जटिलता पनि बढ्दै जान्छ। कस्तो प्रकारको जुम्ल्याहा गर्भ हो भनेर थाहा पाउन चाहिं गर्भ रहेको ९ हप्तातिर अल्ट्रासाउण्ड लिङ्ग पहिचान जरूरी हुन्छ, जुन सामान्यतः गैरकानूनी हो।

जुम्ल्याहा गर्भ बस्दा शुरूतिर धेरै वाक्वाकी लाग्ने र रक्तअल्पता हुन्छ। पाठेघर अधिक ठूलो हुने हुँदा रक्तनली थिचिएर जननेन्द्रिय वरिपरि सुन्निन्छ। यस्तो बेला ढुकढुकी बढ्ने, सास फेर्न गाह्रो हुने र महीना नपुगिकनै बेथा लाग्ने सम्भावना ५ देखि ८ प्रतिशत बढी हुन्छ।

पिडौंलाका रक्तनली फुल्ने, पाइल्स हुने, उच्च रक्तचाप र मधुमेह पनि देखापर्न सक्छ। साल पाठेघरको तल्लो भागसम्म पुगेर बेथापूर्व रक्तस्राव र सुत्केरी भएपछि पनि अधिक रक्तस्राव हुने हुन्छ।

मोनोजाइगोटिक गर्भमा शारीरिक विकलाङ्ग बढ्ता देखा पर्छ भने दुइटा शिशु बीचको वृद्धि पनि फरक हुन्छ। दुवैखाले गर्भेशिशुको वजन कम हुनसक्छ। पूरै महीना नपुगी जन्मने हुनाले जुम्ल्याहा शिशुमा त्यसपछि पनि धेरै जटिलता देखापर्छ।

गर्भ व्यवस्थापन
जुम्ल्याहा गर्भमा दोस्रो त्रैमासिकपछि फोलिक एसिड, आइरन, क्याल्सियमको थप मात्रा आवश्यक पर्छ। गर्भमा दुइटा शिशु भएकी आमालाई थप ३०० किलो क्यालोरीसँगै बढ्ता आराम चाहिन्छ।

रक्तअल्पता, उच्च रक्तचाप, महीनापूर्व बेथा लाग्ने अवस्था आदि थाहा पाउन पटक–पटक फलोअपमा राख्नुपर्छ। गर्भलाई सकेसम्म ३४ हप्ताभन्दा बढी लम्ब्याउने प्रयास हुनुपर्छ।

विशेषतः मोनोजाइगोटिक खालको जुम्ल्याहामा समयमै जटिलताहरू पत्ता लगाउन पटक–पटक अल्ट्रासाउण्ड गराउनुपर्छ। गर्भ अवधि ४० हप्ताको हुने भए पनि जुम्ल्याहाको हकमा प्रायः दुई हप्ता अगाडि नै सुत्केरी भइसक्छ।

जुम्ल्याहा शिशुमध्ये पहिलो उल्टो बसेको छ, पुट्ठाको हड्डी सानो छ, साल पाठेघरको तलसम्म आएको छ, अत्यधिक रक्तस्राव भइरहेको छ, शिशुको धड्कन तलमाथि भएको छ, पहिला पनि सिजेरियन भएको छ, गर्भे शिशुको तौल कम छ र दोस्रो शिशु अप्रत्याशित रूपमा ठूलो छ भने सिजेरियन अपरेशन गर्नुपर्छ।

जुम्ल्याहा गर्भको सुत्केरी बेथाका दौरान समयअगावै साल छुट्टिन सक्ने, बेथा पनि बढ्न नसक्ने, लामो समय पेट ठूलो भएको कारणले सुत्केरीपश्चात् पाठेघर खुम्चिन समय लाग्ने, यसैकारण अधिक रक्तस्राव हुने हुनसक्छ। सुत्केरीपश्चात् राम्रोसँग दूध नआउने, पाठेघर पनि राम्ररी नखुम्चिने, पाठेघरको संक्रमण हुनसक्ने आदि समस्या देखिनसक्छ।

प्रतिकृया दिनुहोस