रेडक्रस विपद व्यवस्थापनमा जुट्याे
नेपाल रेडक्रसले मनसुन तयारी योजना मुताविक 'इमरजेन्सी अपरेसन सेन्टर'लाई सक्रिय बनाएको बताएकाे छ ।
यसअनुसार विपद्को अवस्थाअनुसार तथ्यांक संकलन, राहत, उद्धार, सहयोग, समन्वय, प्रतिवेदन, बन्दोबस्ती लगायतको क्षेत्रमा केन्द्रीय र स्थानीय स्तरमा दक्ष स्वयंसेवक र कर्मचारीलाई परिचालन गरिएको बताएको छ ।
देशका अधिकांश स्थानमा परेको अविरल वर्षाले सडक अवरुद्ध, डुबान, बाढी र पहिरोका घटनाहरु हुँदै गर्दा स्थानीय निकाय, सरकार, सुरक्षा निकायसँगको सहकार्यमा प्रभावित क्षेत्रमा स्वयंसेवक र कर्मचारी परिचालित गरेको छ।
नेपाल रेडक्रसका विपद् व्यवस्थापन उपनिर्देशक हरिमोहन श्रेष्ठले पहिलो चरणमा मानिसहरुको ज्यान जोगाउनु रहेकाले उद्धारको काममा स्थानीय स्तरमा रेडक्रसकर्मीहरु लागिरहेको बताए।
खासगरी प्रदेश नं एक, दुई र तीनमामा बढी जनधनको क्षति भएको देखिएको छ । डुबानको समस्या रौतहट, उदयपुर, सिरहा लगायतको क्षेत्रमा गम्भीर छ।
डोटी र दार्चुलामा भारी वर्षा भइरहेको र क्षतिहुन सक्ने भएकोले खोला नदी छेउछाऊ र पहिरो जानसक्ने क्षेत्रमा समुदायलाई सतर्क रहन आव्हान गरिएको छ ।
नेपाल रेडक्रसले आपत्कालीन सहयोगको लागि देशका विभिन्न स्थानमा राहत सामग्रीहरु पुर्याइसकेको र द्रुत सर्वेक्षण सँगसँगै सामग्री वितरण गरिने सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिएका छन्।