टिप्पणीशुक्रवार, मंसिर २४, २०७३

थाङ्काको तमासा: रेकर्डको लोभ मात्र

वसन्त महर्जन

तस्वीर: गोपेन राई

बौद्ध आस्थालाई दुई देशबीचको दौत्य सम्बन्धसँग समेत जोडेर गरिएको मिहिनेतको परिणाम तमासामा सीमित हुनु अपेक्षित कुरा होइन।

विश्वको सबभन्दा सानो, ठूलो, ढिलो, चाँडो, होचो, अग्लो जस्ता रेकर्ड तोड्ने होडबाजीले पनि संसारका मान्छेहरूलाई सक्रिय बनाइरहेको हुन्छ। जापानमा विश्वकै ठूलो थाङ्का बनाएर हालै काठमाडौं, लुम्बिनी र कपिलवस्तुमा प्रदर्शनीमा राखिएको घटनालाई यसै कोटिमा राख्न सकिन्छ।

विश्वको सबभन्दा सानो र सर्वाधिक ठूलो बुद्ध मूर्ति वा स्तूपजस्ता रेकर्डमा अब थाङ्का पनि जोडिएको छ। नितान्त बौद्ध आस्थासँग जोडिएका यी विश्व रेकर्डको प्रयोजन भने चिन्तनशून्य अवस्थामा छ। 

नेपाल–जापान कूटनीतिक सम्बन्धले ६० वर्ष पूरा गरेको अवसरमा विशाल थाङ्का बनाएर प्रदर्शन गरेको आयोजकहरूको भनाइ छ। ७० मिटर लम्बाइ र ५० मिटर चौडाइको थाङ्का आफैंमा कौतूहलको विषय हो नै।

केही वर्षअघि काठमाडौंको दशरथ रंगशालामा प्रदर्शन गरेर धेरैलाई आश्चर्यमा पारेको यो थाङ्काको रमिता गत हप्ता दोस्रो पटक देखाइयो। भनिए अनुसार, सन् १९९४ मा जापान गएका नेपाल बौद्ध संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकालीले युसुतादा कातागिरिसँग मिलेर यो थाङ्का बनाउन थालेका थिए।

६ वर्ष लगाएर बनाइएको यो थाङ्कामा सात हजार वर्गमिटर कपडा प्रयोग भएको छ। ८१ टुक्रा कपडालाई ३२ सयवटा जिपरले जोडेर बनाइएको थाङ्कामा नेपाल र जापानबाहेक अमेरिका, कम्बोडिया, दक्षिण कोरियालगायत १६ मुलुकका १० हजारभन्दा बढी कलाकारको मिहिनेत परेको छ।

बुद्ध धर्मका अनेक प्रभावशाली भिक्षुमध्ये एक ऋद्धिवान् भिक्षु मौद्गल्यायन थिए। ती भिक्षु आफ्नो ऋद्धिबलले स्वर्ग र नर्कमा पनि धर्मोपदेश दिएर फर्कने गरेको विवरण बौद्ध साहित्यमा पाइन्छ।

एकपटक त्यस्तै यात्राबाट फर्केका मौद्गल्यायनलाई भगवान बुद्धले आफूले देखेका कुराहरू अन्य भिक्षुका साथै जनसाधारणले पनि बुझ्ने गरी भित्तामा चित्रांकन गर्न आग्रह गरे।

त्यसरी विहारको भित्तामा 'भवचक्र' तयार भयो भनिन्छ। बौद्ध जगतमा 'प्रतीत्यसमुत्पाद दर्शन' पनि भनिने यो चित्रको ठूलो महत्व छ। प्रतीत्यसमुत्पाद नबुझ्ोसम्म बौद्ध दर्शनको मर्म नबुझिने मान्यता छ।

भवचक्र जस्तै बुद्धको मुहारचित्र पनि बुद्धको जीवनकालमै उतारेको प्रसंग पाइन्छ। बौद्ध चित्रकलाको विकासक्रममा काठमाडौं उपत्यकामा बिलंपौ (पटचित्र) भनिने 'स्क्रोल पेन्टिङ' शुरू भयो। यसमा कुनै बौद्ध कथावस्तुको सचित्र वर्णन हुन्छ।

कम चौडाइको लामो कपडामा बनाइने बिलंपौ पर्व विशेषमा हिजोआज पनि इतुंबहालको केशचन्द्र पारावत महाविहार र ठमेलको विक्रमशील महाविहारमा प्रदर्शनीमा राखिन्छ।

भित्तेचित्रलाई एकबाट अर्को ठाउँमा सार्न सकिन्न तर बिलंपौ (पटचित्र) जस्तै गोलो मुठा पारेर सजिलै बोक्न मिल्ने र एउटै कपडाको टुक्रामा सम्पूर्ण कुरा व्यक्त गर्न सकिने गरी काठमाडौंमा चित्रकलाको विकास भयो।

कोठाको भित्तामा टाँग्न र यताउता लैजान पनि सहज हुने यो चित्रकला तिब्बती बौद्ध समाजमा पनि लोकप्रिय हुन पुग्यो। काठमाडौंमा 'पौभाः' भनिने यो चित्रकलाको तिब्बती नाम 'थाङ्का' अहिले विश्वप्रसिद्ध छ।

यसबाट के बुझिन्छ भने, विश्व बौद्ध जगतका लागि नेपालको देन हो– 'थाङ्का'। तिब्बतमा यसको बढ्दो मागलाई ध्यानमा राखेर काठमाडौंबाट नेपाली कलाकारहरू 'पौभाः' वा 'थाङ्का' बनाउने प्रशिक्षण दिन जान्थे वा तिब्बती कलाकारहरू यसैको प्रशिक्षणका लागि काठमाडौं आउँथे।

विषयवस्तु र मौलिकता उही भए पनि रंग प्रयोगको आधारमा 'थाङ्का' लाई नेपाली वा तिब्बती भनेर छुट्याउन सकिने लैनसिंह बाड्देलले उल्लेख गरेका छन्। उनका अनुसार, नेपाली थाङ्का कलाकारहरू हल्का र उज्यालो रंग प्रयोग गर्छन् भने तिब्बतीहरू गाढा रंग रुचाउँछन्।

हिजोआज घरको बैठक कोठादेखि होटल, रेस्टुरेन्ट र कार्यालयहरूसम्म थाङ्का झुन्ड्याएको देखिनुले यो चित्रकलाको लोकप्रियता झल्काउँछ। बौद्ध साधकहरू भने यसलाई साधनाको एउटा माध्यम मान्छन्।

जसरी जन्म र मृत्युको कार्यकारणलाई भवचक्र (प्रतीत्यसमुत्पाद दर्शन) द्वारा सजिलै प्रष्ट्याइन्छ त्यसरी नै दर्शनका अन्य पक्षहरूलाई थाङ्कामा दर्शाइन्छ। जुन दर्शनको साधना गर्ने हो सोही अनुसार थाङ्का रोजिन्छ।

अब चर्चा विश्वको सबभन्दा ठूलो भनिएको थाङ्काकै गरौं जसलाई भित्तामा झुन्ड्याउन सकिन्न। सार्वजनिक प्रदर्शनीमा राख्दा पनि त्यसलाई चौरमा बिछ्याउनु परेको छ।

बुद्धको जन्मदेखि महापरिनिर्वाणसम्मका क्षणहरू चित्रित यो विशाल थाङ्का नियाल्न कि अग्लो ठाउँमा उक्लिनुपर्छ कि त हेलिकप्टरमा सवार हुनुपर्छ।

प्रदर्शनीमा आउनेहरू चाहिं 'विश्वकै ठूलो रे' भन्दै सर्सर्ती एकछेउ हेरेर फर्केका थिए। बुझ्न खोज्नेलाई प्रदर्शनस्थलमा बाँडिएको परिचय पुस्तिकामा छापिएको त्यसैको सानो प्रतिलिपिले मात्रै सघायो। यो त 'संसारको सबभन्दा ठूलो सारंगी' भनेजस्तै भयो, जुन बजाउन मिल्दैन।

'गिनिज बूक अफ वर्ल्ड रेकर्डस्' लाई दुस्साहसी, जोखिमप्रेमी र सन्कीहरूको संकलन पनि भन्ने गरिन्छ, जसमा अर्थ न बर्थको तमासा देखाउनेहरू पनि दर्ता हुन्छन्।

बौद्ध धर्म वा आस्थालाई दुई देशबीचको दौत्य सम्बन्धसँग समेत जोडेर त्यति धेरै समय, श्रम र खर्चबाट गरिएको काम भने त्योभन्दा फरक हुने अपेक्षा गरिन्छ।

प्रतिकृया दिनुहोस