सेख कलामको टाँगाले जित्यो प्रतियोगिता
शब्द/तस्वीर: सुरेश बिडारी
टाँगा संरक्षणका लागि भन्दै वीरगञ्जमा टाँगा दौड प्रतियोगिताको आयोजना गरिएको छ ।
‘सानो पाईला’ गैरसरकारी संस्थाले आफ्नो १० औं बार्षिक उत्सवको अवसरमा टाँगा दौडको आयोजना गरेको हो ।
आदर्शनगर रंगशालामा आयोजित प्रतियोगितामा छपकैयाका सेख कलाम प्रथम भए भने रानीघाटका अकबर महम्मद मन्सुरी दोस्रो र रानीघाटकै विनोद साह तेली तेस्रो भए । उनीहरुले क्रमशःरु ११ हजार, रु ८ हजार र रु ५ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा सहभागी सबै १६ वटै टाँगालाई जनही रु ५०५ प्रदान गरिएको सानो पाईलाका सञ्चार संयोजक सुविर घोषले बताए ।
जिल्ला खेलकुद विकास समितिसँग समन्वय गरेर प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिने सोच रहेको सानो पाईलाका संस्थापक सदस्य डा राकेश कुमार झाले बताए ।