समाचारशुक्रबार, २७ आषाढ , २०७६

बाढी पहिराेका कारण मृत्यु हुनेकाे संख्या १७ पुग्याे, सात जना बेपत्ता

रासस

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट मृत्युहुनेकाे संख्या १७ पुगेकाे छ । 

पहिराेले भत्किएकाे काभ्रेकाे बनेपा ३ चुनातालका रामप्रसाद दंगालको घर । घरमा पुरिएर दई जनाको मृत्यु भएको थियाे । तस्वीर: रासस ।

सात जना बेपत्ता भएकाे प्रहरीले प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । 

बाढी, पहिरोमा परेर काठमाडौं र खोटाङमा तीन–तीन जना, ओखलढुङ्गा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, ललितपुर र धादिङमा एक–एक जना तथा भोजपुरमा र काभ्रेमा दुई–दुई जना गरी १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीमा घरको पर्खाल भत्किएर स्थानीय निलु यादव, शर्मिला यादव र कुन्दन यादवको ज्यान गएको छ । खोटाङमा भएको घटनामा परी रेखा राई, रोमन राई र रोहन राईको मृत्यु भएको छ । 

काभ्रेको बनेपाका गोमा दङ्गाल र सोहनी दङ्गाल, रामेछापकी पदमकुमारी सुनुवार, भोजपुरका जगतबहादुर राई र जनक विक, ललितपुका सुरज जिम्बा, पर्साका निखिल पटेल, धादिङ गजुरीका अस्मिता तामाङ, सिन्धुली फिक्कल गाउँपालिकाकी हेमकुमारी सुनुवारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

खोटाङ, काभ्रे, रामेछाप, मकवानपुर, धादिङ, दोलखामा गरी सात जना घाइते भएका र पाँचथर, इलाम, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, काठमाडौंका गरी सात बेपत्ता भएकाे प्रहरी उपरीक्षक थापाले जानकारी दिए । 

प्रहरीका अनुसार बाढी, पहिरोमा परेका सिराहाका दुई, सुनसरीका एक र भक्तपुरका एक गरी चार जनाको उद्धार गरिएको छ ।

लगातारकाे वर्षाका कारण आएकाे बाढीबाट काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, रौतहट, पर्सा धनुषा, चितवन, उदयपुर, पाँचथर, मकवानपुर, खोटाङ, दोलखा, धनकुटा, धादिङ, ओखलढुङ्गा, सङखुवासभा, भोजपुरलगायतका जिल्ला प्रभावित भएका छन् ।

पूर्वी पहाडी क्षेत्रमा पहिलो र तराईका क्षेत्रमा डुबानबाट बढी प्रभावित भएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण प्रभावित भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको छ । गृह मन्त्रालयले सबै संयन्त्र प्रयोग गरेर उद्धार कार्य तीव्र पारिएको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस