समाचारशुक्रबार, २७ आषाढ , २०७६

बाढीमा फसेका एउटै टाेलका १०७ जनाकाे उद्धार

कमल रिमाल

मोरङको कटहरीमा बाढीमा फसेका १०७ जनाको सशस्त्र प्रहरीले उद्धार गरेकाे छ ।  

बाढीमा फसेकाहरुको उद्धार गर्दै सशस्त्र प्रहरी । सबै तस्वीरः कमल रिमाल

लोहान्द्रा खोलामा आएको बाढीका कारण डुबानमा परेका कटहरी गाउँपालिका ४ गन्नु टोलका महिला, बालबालिका र जेष्ठ नागरिकलाई उद्धार गरिएकाे हाे । 

उद्धारमा संलग्न सशस्त्र प्रहरी निरीक्षक बिराज कटुवालका अनुसार २५ घर डुबानमा परेपछि मानिसहरु घर बाहिरको सडकमा जम्मा भएर बसेका थिए।

महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उद्धार गरिएपनि पुरुषहरु भने घर कुरेर बसेका छन् । 

नेपाली सेनाले पनि साेही ठाउँबाट तीन जनाकाे उद्धार गरेको छ । 

उद्धार गरिएकाहरुलाई विद्यालयमा राखिएको छ भने गाउँपालिकाले खानाकाे व्यवस्था गरेकाे छ । 

वडा अध्यक्ष मण्टु शेखका अनुसार उनीहरुलाई सामूहिक रुपमा खाने व्यवस्थाका लागि ग्यास सिलिण्डर, चुलो, चामल, दाल र तरकारीको व्यवस्था गरिएको छ ।

डुबान क्षेत्रमा पुगेका प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षलाई राहतमा कमी आउन नदिन आग्रह गरे । 

 

 

प्रतिकृया दिनुहोस