समाचारशुक्रबार, २७ आषाढ , २०७६

बाढीले काठमाडौं, भक्तपुर लगायत तराईका विभिन्न ठाउँ जलमग्न

हिमालखबर

अविरल वर्षाका कारण आएको बाढीले देशको राजधानी काठमाडौं, भक्तपुर सहित तराईका विभिन्न स्थान जलमग्न भएका छन् । 

भक्तपुरको तरकारी तथा फलफूल बजार आसपासमा बाढीले पारेको प्रभाव । सबै तस्वीर: रासस ।

२६ असार देखि लगातार परेको वर्षाले काठमाडौं उपत्यकाका सबै खोलाहरुमा बाढी आएको छ । बाढीले कलंकीस्थित मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग र ट्राफिक प्रहरी कार्यालय डुबानमा परेका छन् । कलंकीको खसीबजार, मैत्रीनगर तथा ढुंगेअड्डाका खोला किनारमा रहेका अधिकांश घरहरुको भूइँतलामा बाढी पसेको छ ।

त्यस्तै भक्तपुरको हनुमन्ते खोलामा बाढी आउँदा मध्यपुरथिमी, बिस्कुट कारखाना, तरकारी बजार लगायतका क्षेत्र डुबानमा परेका छन् । शंखधर चोकबाट दधिकोट जाने पुल भासिएको छ । बाढीले सूर्यविनायक राम मन्दिर, बाराहीस्थान, राधेराधे, शंखधरचोक, बालकोट, चारदोबाटो लगायतका क्षेत्रमा बाढी पस्न लागेको छ । 

बल्खुमा देखिएको बाग्मती नदि । 

मोरङमा पुल र सडक बगायो
बाढीले तराईका विभिन्न ठाउँहरु पनि डुबानमा परेका छन् । मोरङको विराटनगरस्थित कोशी अंचल अस्पताल परिसर डुबानमा परेको छ । मोरङका विराटनगर महानगरपालिका, कटहरी गाँउपालिका, धनपालथान गाँउपालिका र जहँदा गाँउपालिकाका बस्तीहरुमा बाढी पसेको छ ।

विराटनगर महानगरपालिकाको वडा नम्बर १, ६, ८ र १६, यस्तै कटहरी गाँउपालिकाको वडा नम्बर ३ र ४ मा धेरै क्षती पुगेको छ ।

मोरङकै सुन्दरहरैचा २ को जागियारे र धोबियारे गाउँ जोड्ने सडक तथा पुल बाढीले बगाएको छ । सुन्दरहरैचामा विभिन्न बस्तीहरु र ग्रामथान गाउँपालिका ७ का विभिन्न बस्ती समेत डुबानमा परेका छन् । 

कलङ्कीमा बस्तीमा बाढी पसेपछि उद्धार गर्दै सशस्त्र प्रहरी ।

पर्साका दर्जनौं गाउँ डुबानमा
पर्साका पनि धेरै बस्तीमा बाढी पसेको छ । वीरगञ्ज महानगरपालिकाको श्रीपुर, रानीघाट, राधेमाई, माईस्थान, प्रगति नगर, तेजारथ टोल लगायतका ठाउँहरु डुबानमा परेका छन् ।

पर्साकै दसौता, धोरे, हस्वा, मसिहानी, भिस्वा, मुडली, लङ्गडी, जयमङ्गलापुर, सबैठवा, प्रसौनीभाटा, अमरपट्टि, धोबिनी, आशवारी, गुलरिया, गर्दौल लगायतका बस्तीहरु डुबानमा परेका छन् ।

सिक्टा, ओरिया, तिलावे तथा गङ्गोल नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान गरेको छ । 

महानगरीय प्रहरी प्रभाग कलङ्की ।

रौतहटमा दुइजनालाई बाढीले बगायो, अढाईसय घर बाढीमा
रौतहटको लालबकैयामा आएको बाढीले ईशनाथ नगरपालिकाका एक युवा र गढीमाई नगरपालिका ७ धर्मपुरकी दुलारी देवीलाई बगाएको छ ।

बागमती र लालबकैया नदीको तटबन्ध विभिन्न ठाउँमा भत्केको छ । गढीमाई नगरपालिकाको लक्ष्मीपुरमा बागमती नदीको तटबन्ध भत्किँदा गाउँ नै खतरामा रहेको छ ।

रौतहटको गढीमाई नपाको धर्मपुरका अढाई सय परिवार बाढीमा फसेका छन् । जिल्लाका दर्जनौं गाउँ डुबानमा परेका छन् ।

आज साँझसम्म राैतहटमा एकसय घर भत्किसकेकाे पत्रकार सञ्जय मित्रले जनाएका छन्का ।  बाढीका कारण गढीमाई, कटहरिया, गौर, ईशनाथ नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका विभिन्न बस्तीहरु जोखिममा परेका छन् ।

आज बेलुकासम्म बाढीमा फसेका एक हजार जनाको उद्धार भएको छ । वृन्दावन नगरपालिकामा १७ जनाको स्थानीय सुरक्षाकर्मीले उद्धार गर्न नसकेपछि दैवी प्रकोप उद्धार समितिको निर्णय पठाएर हेलिकप्टर मगाइएको छ । 

राैतहटमा राजमार्गमा पसेकाे बाढी । 

बाराका दर्जन गाउँमा बाढी पस्याे 

बारामा रहेको दुधौरा , बालगंगा र बंगरी नदीको पानी बस्तिमा पसेको छ । बाढीका कारण दुधौरा नदीको किनारमा रहेका लोसन्डा , रमौली , हरपुर, अमाडार बालगंगाको किनारमा रहेको फत्तेपुर , ईनरवार्सिरा, कचनपुर , तुराही र बंगरी नदीको किनारमा रहेको नितनपुर लगाएको गाउँ डुबानमा परेको छन् ।

किसानहरुले चैत्र महिनामा लगाएको धान नष्ट हुनुका साथै भर्खर रोपाईं गरेको खेत डुबेका पत्रकार श्याम गुप्ताले जनाएका छन् । 

बाढीका कारण काठमाडौंका बागमती, विष्णुमती, बल्खू खोला, नख्खू, हनुमन्ते, मोहना, धोवि खोलामा पानीको सतह बढेकोले सतर्कता अपनाउन गृह मन्त्रालयले आग्रह गरेको छ ।

त्यस्तै तराईका मेची, निन्दा, विरिङ, मावा-रतुवा, नुनखोला, लोहन्द्रा, वुढीखोला, खेसिलिया, सुनसरी खोला, त्रियुगा, वालन, खुट्टी, चुरियाखोला, खाडो, माहुली, रातो, हर्दी, लालबकैया लगायत साना नदी जलाधारको धेरै स्थानहरूमा सतर्कता भन्दा माथि बाढी आउनेगरी बर्षा भईरहेकोले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागका अनुसार केही दिनदेखि सक्रिय रहेको मनसुन २६ असारदेखि थप सक्रिय भएको छ । यही समयमा मध्य तराई क्षेत्रमा सशक्त न्यून चापीय प्रणाली समेत विकसित भएकोले मध्य तथा पूर्वी नेपालका पहाडी र तराई क्षेत्रमा अविरल वर्षा भइरहको छ । 

मौसम तथा बाढीको विषम अवस्था अझै दुईदिनसम्म रहने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

 

प्रतिकृया दिनुहोस