समाचारशुक्रबार, २७ आषाढ , २०७६

विमानस्थल अझै दुई घण्टा नखुल्ने

हिमालखबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यती एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ ।

धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू सबै अवरुद्ध रहेका छन् ।

विमान रहेको ठाउँमा पानी र हिलो भएकाले निरन्तरको प्रयासले पनि विमानलाई निकाल्न कठिनाइ भइरहेको बताइएको छ ।

धावन मार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक खटिएका छन् । विमानलाई अगाडिबाट तान्न लामो प्रयास असमर्थ भएपछि पछाडिबाट तान्ने प्रयास भइरहेको बताइएको छ ।

विमान धावन मार्ग नजिक धस्सिएकाले सुरक्षाका कारण अहिलेकै अवस्थामा उडान गर्न नसकिने बताइएको छ ।

धावन मार्गदेखि विमानको पङ्खाबाट ८० मिटर टाढा हुनुपर्ने भएकाले अन्तर्राष्ट्रिय उडान गर्न नमिल्ने बताइएको छ ।

काठमाडौं आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विभिन्न विमानलाई भारतको लखनउलगायतमा ‘डाइभर्ड’ गरिएको विमानस्थलले जनाएको छ ।

नेपालगञ्जबाट काठमाडौं आएको यतीको एटीआर–७२ विमान विमानस्थलमा अवतरणको क्रममा बिहान ११ः५ बजे धावन मार्गमा चिप्लिएको थियो ।

विमान धावन मार्गको दक्षिणतर्फ करीब १० मिटर ‘रन वे स्ट्रिप’ को घाँसे मैदानमा धस्सिएको छ । उडान नम्बर एनवाइटी–४२२ (नाइन एन एएमएम) विमानमा सवार चालक दलका सदस्यसहित ६६ यात्रु सकुशल रहेको उक्त विमान कम्पनीले जनाएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार विमान हटाउन समय लागेका कारण विमानस्थल कार्यालयले नोटाम जारी गरेको छ ।अझै दुई घण्टा विमानस्थल खुल्न सक्ने अवस्था नरहेकाे तिवारीले बताएका छन् । 

प्रतिकृया दिनुहोस