समाचारशुक्रबार, २७ आषाढ , २०७६

अझै दुई दिन उच्च सतर्कता अपनाउन आग्रह

हिमालखबर

मौसम तथा बाढीको विषम अवस्था अझै दुईदिनसम्म रहने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

बागमती नदीमा आएको बाढीले रौतहटको लक्ष्मीपुरमा बाँध भत्काएपछि जलमग्न पूर्व–पश्चिम राजमार्ग । तस्वीरः रासस ।

विभागले आज दिउँसो विज्ञप्ति जारी गरी मौसम र बाढीको जानकारी आवश्यक परेमा मौसम तथा बाढी पूर्वानुमान महाशाखामा सम्पर्क गर्न पनि भनेको छ ।

काठमाडौंमा भोली सम्म नै वर्षा हुने भएकाेले बाढीकाे जोखिम उच्च रहेकाे विभागले जनाएकाे छ ।  

"काठमाडौंका बागमती, विष्णुमती, बल्खू खोला, नख्खू, हनुमन्ते, मोहना, धोवि खोला लगायत सवै खोलानाला र होचा भुभागमा उच्च सतर्कता अपनाऔं", विभागले भनेकाे छ । 

वर्षाका कारण वाग्मती, कमला लगायतका स–साना नदीहरुले समेत खतराको तह पार गरेका छन् । 

विभागका अनुसार केही दिनदेखि सक्रिय रहेको मनसुन २६ असारदेखि थप सक्रिय भएको छ । यही समयमा मध्य तराई क्षेत्रमा सशक्त न्यून चापीय प्रणाली समेत विकसित भएकोले मध्य तथा पूर्वी नेपालका पहाडी र तराई क्षेत्रमा अविरल वर्षा भइरहको छ ।

गृह मन्त्रालयले दिउँसो जारी गरेको सूचना अनुसार वर्षाका कारण गएको बाढी पहिरोले देशभर ८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । ९ जना बाढी र पहिरोमा परेर बेपत्ता भएको सूचना प्राप्त भएको छ । 

प्रतिकृया दिनुहोस