समाचारशुक्रबार, २७ आषाढ , २०७६

बाढी र पहिरोले सातको मृत्यु , नाैजना बेपत्ता

हिमालखबर

अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर देशका विभिन्न जिल्लामा सातजनाको मृत्यु भएको छ भने नाै‌जना बेपत्ता भएका छन्। 

कञ्चनपुरको शुक्लाफाँटामा अविरल वर्षापछि रुख ढलेर च्यापिएको स्कूल बस । तस्वीरः रासस

काभ्रे, भाेजपुर, सिन्धुली, पर्सा, ललितपुर र रामेछापमा गरी ७ जनाकाे मृत्यु भएकाे छ ।  

पहिरोले घर पुर्दा काभ्रेको बनेपा नगरपालिका–३ चुनातालका ६० वर्षीया गोमा दङ्गाल र उनकी नातिनी सात वर्षीया सुहबीको मृत्यु भएको छ । घटनामा गोमाकी बुहारी ३० वर्षीया सुशीला र उनकी तीन महीनाकी छोरी अनुष्का घाइते भएका छन् ।

घाइतेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

भोजपुरमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको मृत्यु भएकाे छ । 

राईकाे घरमै भत्किएकाे पर्खालले च्यापेर र विककाे शौचालयमा पसेकाे बेला पहिराेले पुरेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

पहिरोले पुरिएर रामेछापमा पनि ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । 

अविरल वर्षापछि आएकाे बाढीले बगाएर पर्साको पर्सागढी नगरपालिका १ का १० बर्षीय निखिल पटेलको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

ललितपुरमा पनि अविरल वर्षाका कारण एकजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । 

नाैजना बेपत्ता

बाढी र पहिराेका कारण काठमाडाैं, खोटाङ, महोत्तरी र पाँचथरमा नाैजना बेपत्ता भएका छन् । 

काठमाडौंको मूलपानीमा आज दिउँसाे तीनजनालाई पहिरोले पुरेकाे छ । घरको गाह्रो भत्किएर टहराेमा बसिरहेको बेला टहराेलाई पनि पहिराेले पुरेकाे महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । प्रहरीको उद्धार टोलीले पुरिएकाको खोजी गरिरहेको छ।

कलंकीमा बल्खुखाेलामा आएकाे बाढीले विनोद चौधरीलाई बगाएकाे छ । खाेलामा बगेकाे ग्यास सिलिण्डर समाउन खाेज्दा चाैधरीलाई नै बगाएकाे प्रहरीले जनाएकाे छ । 

खाेटाङको खोटेहाङ गाउँपालिका–२ बाप्लुखा पहिरोले घर बगाउँदा ३१ वर्षीया विष्णु राई घाइते भएका छन् भने उनकी श्रीमती, एक छोरा र एक छोरी बेपत्ता भएका छन् । 

आज बिहान करीब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारैजनालाई बगाएको विष्णुका दाजु श्यामले बताए ।

विष्णुकाे स्थानीयले तत्काल उद्धार गरेका थिए भने अरु दुईजना फेला नपरेपछि प्रहरीसहितको टोली परिचालन भएकाे प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

महोत्तरीको रातो खोलामा आएको बाढीले बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई बगाएर बेपत्ता बनाएकाे छ । बगाएको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टाेलीले बैठाको खोजतलास गरिरहेका छन् । 

पाँचथरमा पनि एक विद्यार्थी बगेर बेपत्ता भएका छन् । मिक्लाजुङ गाउँपालिका ४ स्थित नुँवा खोला तर्ने क्रममा आज बिहान विद्यालय जाँदै गरेका आठ वर्षीय जीवन राई बेपत्ता भएका हुन् ।  
अहिले प्रहरीचौकी रवि र स्थानीयवासीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताए ।

घरमाथिबाट आएकाे पहिराेले काभ्रेकै चौँरीदेउराली–४ मजुवामा दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घरमा पहिरोले क्षति पुर्‍याएको छ ।

 

प्रतिकृया दिनुहोस