थप समाचारशनिबार, २८ आषाढ , २०७६

दिक्तेलको सेरोफेरो

फाेटाे–एसे

शब्द/तस्वीरः भरतबन्धु थापा

प्रदेश–१ मा पर्ने खोटाङ जिल्ला विभिन्न धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक गन्तव्यका कारण आन्तरिक पर्यटकमाझ परिचित छ । 

पूर्वको पशुपतिनाथ उपमा पाएको हलेसी महादेव मन्दिर रहेको यो जिल्ला प्राकृतिक रूपमा पनि सुन्दर छ ।

जिल्लामा रहेका विभिन्न गढीमध्ये दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका क्षेत्रमा रहेको मझुवागढी महत्वपूर्ण मानिन्छ ।

किरातहरूको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको यो गढीमा हरेक वर्ष मंसिरे पूर्णिमा र वैशाखे पूर्णिमामा साकेला उँधौली र उँभौली मनाइन्छ ।

नगरपालिका क्षेत्रमा कालिका भगवती मन्दिर, बुधेश्वर महादेव, रुपाकोट लगायतका पर्यटकीय गन्तव्यहरू पनि छन् । 

हलेसी धाम जानेहरूले कालिका भगवती र बुधेश्वर महादेवको दर्शन नगरे तीर्थयात्रा अपूरो हुने मानिन्छ ।

तर नगरपालिकाको केन्द्र दिक्तेलबाट नजिकै पर्ने यी गन्तव्यमा पर्यटक आगमन उत्साहजनक छैन । 

रूपाकोट डाँडालाई प्राकृतिक भ्यू–टावरका रूपमा लिइन्छ, किनकि यहाँबाट खोटाङका साथै उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र भोजपुर लगायत जिल्लाका भूभागहरू हेर्न सकिन्छ । 

कसरी पुग्ने ?
दिक्तेल जान काठमाडौंको कोटेश्वरबाट बीपी राजमार्ग हुँदै दैनिक बस तथा जीप छुट्छ ।

२६० किलोमिटर दूरी करीब ८ घण्टामा छिचोलेपछि दिक्तेल बजार पुगिन्छ । 

हलेसी महादेव मन्दिरबाट गाडीमा एक घण्टामा दिक्तेल बजार पुगिन्छ भने त्यहाँबाट १५/२० मिनेटको पैदल यात्रामा मझुवागढी आउँछ ।

 

प्रतिकृया दिनुहोस