समाचारशुक्रबार, २७ आषाढ , २०७६

पृथ्वीराजमार्ग र त्रिभुवन राजपथ अवरुद्ध

हिमालखबर

मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिकै माथिबाट झरेकोे लेदोले सडक पुरिएपछि शुक्रबार दिउँसोदेखि पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनहरू बीच बाटैमा रोकिएका छन् । सो स्थानमा पानी परेपछि माथिबाट आएको लेदोले पटक–पटक सडक अवरुद्ध गर्दै आएको छ ।

यसैगरी गए रातिदेखि परेको अविरल वर्षाले हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने फाखेल र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा शुक्रबार बिहानदेखि हेटौँडा–कुलेखानी सडकखण्डको यातायात सेवा पनि अवरुद्ध भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आजै बिहान हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै सवारी साधन भैँसेस्थित त्रिभुवन राजपथबाटै सञ्चालनमा ल्याइएको छ । फाखेलको महालक्ष्मी पुल नजीक र सिस्नेरीेको विभिन्न स्थानमा पहिरो जाँदा हेटौँडा–कुलेखानी यातायात सञ्चालनमा अवरोध भएको हो ।

यसैबीच त्रिभुवन राजपथको बागझोरामा आज बिहान ९ बजेपछि आएको बाढीले हेटौँडा–काठमाडौँको यातायात सेवा पनि अवरुद्ध भएको उक्त कार्यालयले जनाएको छ । हेटौँडाबाट भैँसे, भीमफेद, दामन र पालुङ जाने सवारीसाधन बागझोरामै रोकिरहेको भैँसेस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस