समाचारशुक्रबार, २७ आषाढ , २०७६

चाल्ने सिस्नो खाेजेर घरघरमै राेजगारी

रासस

घरको काम छाडेर चाल्नेसिस्नो (अल्लो) खोज्न जङ्गल जाँदा पर्वतको जलजला ५, शालिजाकी जसमाया पुनलाई धेरैले जिस्क्याउँथे ।

यो २०५७ सालको कुरा हो । गाउँलेले जिस्क्याएपनि उनले सबै काम छाडेर अल्लो खोज्न जान्थिन् ।

त्यसपछि एउटा हाते उपकरण किनेर धागो निकाल्ने र कपडा बुन्न थालिन् । त्यहि धागो निकाल्ने हाते उपकरण अहिले कुश्मामा ४५ लाख बराबरको अल्लो प्रशोधन केन्द्र तथा कपडा उद्योगमा परिणत भएको छ । क्याङ र कुश्मामा अल्लो प्रशोधन प्रशिक्षण केन्द्र पनि छ ।

अल्लो खोज्न जङ्गल जाँदा जसमायालाई जिस्क्याउने महिला नै हिजोआज उद्यमी बनेका छन् । उनको उद्योगका लागि अल्लो संकलन र प्रशोधन गर्ने काममा संलग्न ५० जना महिला अहिले आत्मनिर्भर बनेका छन् । उनीहरुले आजभोली अल्लो सङ्कलन गरेर धागो निकाल्ने, प्रशोधन गर्ने र कपडा बुन्ने काम गर्छन् ।

जलजलाकीका महिला मात्र हाेइन मोदी गाउँपालिका ३, देउरालीका महिलाले पनि गाउँमै घरेलु उद्योग खोलेर अल्लोका सामग्री उत्पादन गर्दै आएका छन् ।

पुस २०७१ मा दुई महिलाले शुरु गरेकाे अल्लो प्रशोधन उद्योगमा  अहिले ११ जना महिला सदस्य रहेकाे समूहका अध्यक्ष रनमाया गुरुङले बताइन्।

उनीहरुलाई कोरियाको एक संस्थाले अल्लो प्रशोधन गर्ने उपकरण सहयोग गरेको छ । त्यसले प्रशाेधनमा सजिलाे भएकाे छ । “पहिले काठको मुङ्ग्राले कुटेर सुकाउँथ्यौँ”, अध्यक्ष गुरुङले भनिन्, “उपकरण आएपछि सुविधा भएको छ । पहिलेभन्दा तेब्बर छिटो धागो निकाल्छौँ ।”

उपकरण उपलब्ध गराएको संस्थाले नै तयारी सामग्री खरिद गर्छ । 

विदेशमा बस्नेले उपहारका रूपमा समेत अल्लाेकाे कपडा लैजाने गरेका छन् । देशका विभिन्न सहरमा सञ्चालन हुने मेला महोत्सवमा प्रदर्शनीका लागि पनि देउरालीका महिलाले अल्लोका कपडा लैजाने गर्छन् ।

अल्लोका कपडा मात्रै हैन धागो बेचेर पनि राम्रो आम्दानी भएको अर्का उद्यमी बिना पुनले बताइन् । “कपडा तयार गर्नसके थोरै धागोबाट राम्रै आम्दानी हुन्छ”, उनले भनिन् “भ्याइएन भने धागो पनि बिक्छ ।”

तयारी कपडा प्रतिमिटर रु ७०० सम्ममा बिक्री हुने गरेको छ । अल्लोको धागो स्थानीय बजारमा र कपडा तथा तयारी पोसाक पोखरा, काठमाडौं र विदेशमा समेत पठाउने गरिएको छ ।

“पहिले घरधन्दामै दिन बित्थ्यो”,  उद्यमी झकमायाले भनिन्, “अहिले घरको सबै काम सकेर पनि महीनाको रु १०/१२ हजार आम्दानी हुन्छ ।” आफूजस्ता धेरै महिलाले फुर्सदको समय सदुपयोग गर्दै आएको उनले बताइन् ।

जलजलाका उद्यमी महिलाले स्थानीय खर्सुवास, गैराखर्क, ठूलोटाउका र रेसापातल सामुदायिक वनबाट अल्लाे संकलन गर्छन् ।

फागुनदेखि असारसम्म लोक्ता निकाल्ने, पकाउने, पखाल्ने, सुकाउने र प्रशाेधनकाे काम गर्छन् । जाडो याममा सुकाउन समस्या हुने भएकाले त्याे बेलासम्म प्रशाेधन सकेर पुस र माघमा कपडा बुन्न व्यस्त हुन्छन् । चरणबद्ध रूपबाट काम गर्दा वर्षभरिका कुनै पनि महीना खाली बस्न नपरेको उद्यमी महिला बताउँछन् ।

अल्लो सङ्कलन गर्न स्थानीय सामुदायिक वनले निःशुल्क दिएका छन् । महिला समूहमै मिलेर काम गर्छन् । वनमा अल्लो सङ्कलन गर्न लाँदा, लोक्ता निकाल्ने, सुकाउने र पकाउने सबै काम मिलेर गर्ने गरेको उद्यमी जसमायाले बताइन् ।

उनीहरूलाई समय–समयमा जिल्ला लघुउद्यम विकास कार्यक्रम, घरेलु कार्यालयलगायत विभिन्न सङ्घसंस्थाले तालीम र उपकरणमा सहयोग गरेका छन् ।

स्थानीय तहहरुले पनि महिलालाई स्वराेजगार बन्न सहयाेग पुर्‍याउन सहयाेग गरेका छन् । 

जलजला गाउँपालिकाले शालिजा, लेकफाँट र बनौँको माथिल्लो भेगको जङ्गलमा पाइने अल्लोलाई स्थानीयको जीविकोपार्जनसँग जोडेर त्यसको विस्तार गर्नेगरी कार्यक्रम तय गरेको छ ।

जलजलाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमका अनुसार महिलालाई अल्लोको उद्यमसँग जोडेर प्रशिक्षण र व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ ।

 

प्रतिकृया दिनुहोस