समाचारशुक्रबार, २७ आषाढ , २०७६

त्रिभुवन विमानस्थलबाट एक वर्षमा ७७ किलो सुन जफत

हिमालखबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ७७ किलोभन्दा बढी सुन जफत गरेको छ ।

तोकिएकोभन्दा बढी सुन लगाएर तथा लिएर आउने नेपाली र विदेशी नागरिकबाट ७७ किलो ४४४ ग्राम सुन जफत गरिएको विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए ।

भन्सार कार्यालयले एकै व्यक्तिले लगाएर आएको २८ तोला सुनको गहना जफत गरेको छ । उनी नेपाली मूलका अमेरिकी नागरिक भएको बताइएको छ ।

त्यस्तै, विदेशबाट फर्किएका वृद्ध नेपाली दम्पतिले ल्याएको ४८० ग्राम सुन समेत जफत गरिएको छ । उनीहरु अहिले भन्सारको निर्णय विरुद्ध कानूनी प्रक्रियामा गएका छन् ।

चालु आर्थिक वर्षको आर्थिक ऐनले गरेको व्यवस्थाबमोजिम तोकिएको १०० ग्रामभन्दा बढीका सुनका गरगहना वा काँचो सुन बोकी ल्याउनेबाट यति ठूलो परिमाणमा सुन जफत गरिएको हो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत केही लचिलो व्यवस्था गर्दै नेपाली नागरिकले स्वघोषणा गरी २५० ग्रामसम्मका सुनका गहना लगाएर वा १०० ग्रामसम्म काँचो सुन लिएर आउन पाउने व्यवस्था गरेको छ ।

त्यसमध्ये, ५० ग्राम गरगहना निःशुल्क ल्याइन पाइने छ, भने त्यसभन्दा माथिको २०० ग्राममा कर तिर्नुपर्छ । कुल २५० ग्रामभन्दा माथि सुनका गरगहना ल्याएमा भने जफत हुनेछ ।

त्यस्तै, ५० ग्राम निःशुल्क र ५० ग्राम भन्सार तिरेर काँचो सुन पनि ल्याइन पाइने व्यवस्था आर्थिक ऐनले गरेको छ । यो परिमाणभन्दा बढी काँचो सुन ल्याए जफत हुन्छ ।

विदेशीका हकमा स्वघोषणामार्फत् विमानस्थलको लकरमा नै सुन राखेर फिर्ता लैजान पाउने वा २० प्रतिशत धरौटी रकम तिरेर सुनका गहना नेपालभित्र लगाएर आउन पाउने विकल्प दिइएको छ ।

तर, लगाएर आएको गहना फिर्ता भने लैजानै पर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटसँगै १५ जेठमा आएको आर्थिक विधेयकले सुनका सम्बन्धमा लचक व्यवस्था गरेपछि सुन जफत हुने क्रम घटेको भन्सार कार्यालय प्रमुख ठाकुरले बताए ।

प्रतिकृया दिनुहोस