समाचारशुक्रबार, २७ आषाढ , २०७६

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

हिमालखबर

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ ।

एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना ‍‌भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महीनालाई चतुर्मासा पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महीनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् ।

कामकाजमा सक्रिय हुनुपर्ने र चार महीनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

वैज्ञानिकरूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

प्रतिकृया दिनुहोस