अन्तर्वार्ता/विचारबिहिबार, २६ आषाढ , २०७६

बुझ्नै बाँकी बोजो

कमल मादेन

चिसो सिर्जित खोकीसँगै दुखाइ कम गर्ने, स्मरणशक्ति बढाउने ओखती बोजोलाई आम रूपमै बेवास्ता गरिएको छ।
 

तस्वीरहरूः कमल मादेन

“लौन बोजो खोज्न सहयोग गर्नुपर्‍यो”, केही समयअघि मित्र यमबहादुर बमको यस्तो आग्रह आयो । “किन र ?” मैले स्वाभाविक प्रश्न गरें । बमजीलाई कैलाली बस्दा छोरालाई खोकी लाग्दा बोजोले निको पारेको अनुभव रहेछ । 

तर, यो अनुभव वैज्ञानिक हो त ? मलाई विश्वास गर्न गाह्रो भयो । काठमाडौंमा छोरालाई फेरि खोकी चल्न थालेपछि बमजीले चिकित्सककहाँ पुर्‍याएछन् । चिकित्सकले परीक्षणपश्चात् पाँच दिनको एन्टिबायोटिक औषधि दिएछन् । पाँच दिनसम्म त ठीकै भयो, तर सातौं दिनदेखि फेरि खोकी शुरू भएछ । त्यसपछि मित्रले बोजो सम्झिएछन् ।

हामी बोजो खोज्दै ललितपुरको चापागाउँतर्फ लाग्यौं । सुनाकोठी कटेसँगै सडक किनाराको पूर्व एक पोखरीमा बोजो भेटियो । उनले जतनसाथ आधा फिटजति लामो काण्ड भाँचे र सफा गरेर झोलामा हाले ।

केही दिनपछि उनले भने– छोराको खोकी निको भयो । तपाईंले खोजिदिनुभएको बोजोले काम गर्‍यो ।

त्यसबेला पो मैले झट्ट सम्झिएँ, सानो छँदा स्वर बस्दा मलाई पनि बोजोकोे काण्डमा पलाएका मसिना जरा र बोक्रा हटाई सानो टुक्रा मुखमा राखी विस्तारै चुस्न लगाइएको थियो । त्यसको केही दिनमै स्वर विस्तारै खुलेको थियो । “तपाईंले चाहिं बोजोलाई कसरी प्रयोग गर्नुभयो ?” मेरो थप जिज्ञासा थियो ।

मित्रका अनुसार, उनले बोजोको टुक्रालाई डोरीको सहायताले छोराको घाँटीमा माला जस्तै लगाइदिएछन् । माला बनेको बोजोबाट निस्कने विशेष गन्ध श्वासप्रश्वास प्रक्रियाबाट निरन्तर फोक्सोमा प्रवेश गर्दा खोकी नियन्त्रण हुँदो रहेछ । उनले कैलालीबाटै यही तरिका अपनाउँदै आएका रहेछन् ।

औषधिका रूपमा बोजोको प्रयोग त सुनिएकै हो, तर एउटै बोजोलाई फरक फरक तरिकाले प्रयोग गर्ने विधिबारे भने मलाई जानकारी थिएन । वनस्पतिशास्त्रको विद्यार्थी भएका नाताले पनि यसको बहुउपयोगबारे जान्न मलाई हौस्यायो । बुझ्दै जाँदा हिमाञ्चल प्रदेशमा पनि केटाकेटीको खोकी निको पार्न यसै गरी बोजोको माला लगाइदिने चलन रहेको थाहा पाएँ । यसबाट केटाकेटीमा बोल्ने क्षमता बढ्छ भन्ने विश्वास गरिंदो रहेछ ।

बोजो विज्ञान

बोजोको वैज्ञानिक नाम एकोरस कालामस हो । यसलाई ‘स्विट फ्ल्याग’ को नामबाट पनि चिनिन्छ ।

यो वनस्पति करीब चार हजार मिटर उँचाइसम्म छिपछिपे पानी भएको खोला, दलदलयुक्त जमीन र त्यस आसपासका चिस्यान, खासगरी खुला ठाउँमा पाइन्छ । यसको पात एक–डेढ मिटर अग्लो र एक इन्चसम्म चौडा भाला जस्तो आकारको हुन्छ । काण्डमा मसिना आँख्ला हुन्छन् । जरा जमीन सतहमा फैलिएको वा पानीमा लत्रिएको अवस्थामा हुन्छ । बोजोमा गन्ध अत्यधिक हुन्छ । 

फरक भूगोल र समुदायमा बोजोको फरक नाम छ । लिम्बू समुदायमा यसलाई लुप्लाक भनिन्छ भने, गुरुङ समुदायमा छोटा । त्यस्तै तामाङहरू यसलाई सेते भनेर चिन्छन् । नेपाल भाषामा यसलाई सापी भनिन्छ । थारू र हिन्दीभाषीले चाहिं वच भन्दा रहेछन् ।

२०६३ सालमा डा.खेमराज भट्टराई र मधुदेवी घिमिरे लिखित ‘जडीबुटी तथा गैरकाष्ठ वन पैदावारहरूको दिगो संकलन र खेती प्रविधि’ का अनुसार, बोजोलाई बाथ, दाँतको दुखाइ, कफदोष, स्वरभेद (स्वर बसेको), आउँ, झाडापखाला, ब्रोन्काइटिस, ज्वरो आदिमा प्रयोग गरिन्छ ।

गाउँघरमा बोजोको काण्डको धूलो तोरीको तेलमा मिसाई लुतो तथा दादको उपचारमा प्रयोग गरिएको पनि सुनियो । तर, नेपालभन्दा भारतमा यसलाई घरेलु औषधिको रूपमा बढी प्रयोग गरिएको अनुसन्धानबाट देखिन्छ ।

युनानी उपचार पद्धतिमा बोजोलाई दिमाग तन्दुरुस्त राख्ने भिटामिन, शारीरिक कमजोरी, पेट सम्बन्धी गडबडी, कलेजो तथा छातीको दुखाइ, मिर्गौला सम्बन्धी समस्या आदिमा पनि प्रयोग गरिएको पाइन्छ ।

कीराबाट बचाउन खाद्यान्न भण्डारण गरेको ठाउँमा बोजो राख्ने चलन पनि देखिन्छ । बोजोको प्रशोधनबाट निकालिएको तेल कीरा, लामखुट्टे, साङ्ला मार्नका साथै चकलेट, अगरबत्ती र अत्तर बनाउन पनि प्रयोग गरिन्छ ।

आयुर्वेदिक चिकित्सामा बोजो प्रयोगबाट दिव्य मेघा बुटी, संजीवनी बुटी, चन्द्रप्रभा बुटी, महाशंख बुटी, वच चूर्ण, सरस्वत चूर्ण, अश्वगन्धारिष्ट आदि औषधिहरू बनाइने गरेको पनि थाहा भयो ।

स्मृतिवद्र्धक औषधि

बोजोको सबैभन्दा बढी उपयोग मुख्यतः स्मरण शक्ति बढाउने औषधिमा गरिएको देखिन्छ । यस्तो औषधि घरमै पनि बनाउन सकिन्छ ।

पतञ्जली आयुर्वेदद्वारा प्रकाशित सामग्रीका अनुसार, जरा र बोक्रा हटाएपछिको करीब आधा केजी काण्डलाई दुई लिटर जति दूधमा निकैबेर उमाल्नुपर्छ । उमालेको बोजोकोे काण्डलाई टुक्राटुक्रा पारेर छायाँमा सुकाउनुपर्छ । पूर्ण रूपमा सुकेपछि यसलाई मसिनो धूलो बनाएर मिस्रीसँग बराबरी मिसाएर बिहान, बेलुकी करीब दुई ग्राम दूधसँग पिउँदा स्मरणशक्ति तथा एकाग्रता बढ्ने बताइन्छ ।

बोजोमा पाइने रसायनमध्येको बिटा एसारोन मस्तिष्क विकासको गतिविधिका लागि लाभदायक मानिन्छ ।

तर, औषधिजन्य वनस्पतिको धनी देश नेपालवासी हामी नै किन यसबारे अनभिज्ञ छौं त ? पुर्खामा भएका यस्ता औषधिमूलोका ज्ञान हामीमा किन हुन सकेन ? यसबारे थोरै मात्र घोत्लिने हो भने पनि हामी जवाफ पाउन सक्छौं– हामीले आफ्नै परम्परागत ज्ञान, सीप र अभ्यासमा भरोसा गरेनौं, फलस्वरुप यसको प्रयोग हुन छाड्यो ।

अर्कातिर, विद्यालय र उच्च शिक्षामा आधुनिक शिक्षाका नाममा बनाइएका पाठ्यक्रमहरूमा पनि यस्ता रैथाने परम्परागत अभ्यास सिकाइरहने जाँगर देखिएन । विज्ञहरू नै यसबाट विमुख देखिए । विडम्बना नै यही हो ।

बोजोको बलबारे जनता मात्र होइन सरकारलाई नै पर्याप्त जानकारी नभएपछि यो वनस्पतिको निकासी दस्तुर पनि कमै हुनेभयो । वन नियमावलीको पाँचौं संशोधन (२०७२) का अनुसार सरकारले बोजोको प्रति के.जी. निकासी दर रु.५ तोकेको छ ।

औषधिजन्य वनस्पतिको धनी देश नेपालवासी हामी नै किन यसबारे अनभिज्ञ छौं त ? पुर्खामा भएका यस्ता औषधिमूलोका ज्ञान हामीमा किन हुन सकेन ? यसबारे थोरै मात्र घोत्लिने हो भने पनि हामी जवाफ पाउन सक्छौं– हामीले आफ्नै परम्परागत ज्ञान, सीप र अभ्यासमा भरोसा गरेनौं, फलस्वरुप यसको प्रयोग हुन छाड्यो ।

भारतमा भने सुकेको बोजो प्याकेट प्रति के.जी. १५० देखि ३५० भारतीय रुपैयाँसम्म पर्छ । महाराष्ट्रस्थित भाष्कर आयुर्वेदिक औषधालयमा ३–४ इन्च लामो टुक्रा बोजोकै भारु ७० सम्ममा बेचिरहेको प्रचार सामग्रीबाट थाहा पाइन्छ ।

रूखसँगै बोजो रोपौं
बोजोलाई गमलामा फूल जसरी रोप्न सकिन्छ । बोजोको पात सधैं हरियो हुनाले यसले सुन्दरतासँगै सुगन्ध पनि प्रदान गर्छ । तर, यसलाई गमलामा रोप्ने त परै जाओस्, नर्सरीहरूमा पनि राखिएको देखिन्न । त्यसो त बिक्री नै नहुने भएपछि नर्सरीमा राख्नुको पनि औचित्य रहन्न ।

अहिले सरकार लाखौं रूख रोप्ने कुरा गर्दैछ । यस्तो बेला रूखसँगै बोजो जस्ता औषधिजन्य वनस्पति रोप्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्छ । आयातित वनस्पतिलाई प्रश्रय दिनुभन्दा आफ्नै वनपाखामा पाइने वनस्पति रोपिनु आर्थिक हिसाबले मात्र होइन, जैविक विविधताका दृष्टिले समेत उपयुक्त हुन्छ ।

सरकारको यस्तो कार्यले औषधिजन्य वनस्पति बोजोका गुण र उपादेयताबारे सबैले थाहा पाउँथे, सडकमा सुगन्ध सहितको हरियाली छाउँथ्यो, जनता पनि निरोगी हुन्थे ।

प्रतिकृया दिनुहोस