थप समाचारबिहिबार, २६ आषाढ , २०७६

जनसंख्या दिवसमै जन्मेका यी बालक (फोटो फिचर)

हिमालखबर

- तस्वीरहरू: मोनिका देउपाला र बिक्रम राई

बिहीबार बिहान ९ बजेर ४५ मिनेटमा भक्तपुरकी २३ वर्षीया महिलाले एक शिशुलाई जन्म दिएकी छिन् ।

तस्वीरहरू: मोनिका देउपाला र बिक्रम राई

थापाथलीस्थित प्रसुती गृहमा जन्मिएको उक्त नाबालकको तौल २.३० किलो छ । शिशु स्वस्थ्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।

संयोगले शिशुको जन्मदिन विश्व जनसंख्या दिवस परेको छ ।

अमेरिकाको राष्ट्रिय जनगणना ब्यूरोले यो जुलाई महीनासम्ममा विश्वको जनसंख्या ७.५८अर्ब पुग्ने जनाएको छ । भक्तपुरका यी शिशु तिनैमध्ये एक बनेका छन् ।

पछिल्लो जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ ।

अमेरिकी ब्यूरोका अनुसार, विश्वमा जनसंख्या वृद्धिदर सन् २०२०–२१ मा १ प्रतिशतमा झर्नेछ, जुन १९५० पछि पहिलोपटक यो स्थितीमा आइपुगेको छ ।

प्रजनन् नियन्त्रणभन्दा व्यवस्थापनमा ध्यान दिऔं: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले जनंसख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गरेका छन् ।

विश्व जनसंख्या दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदैं प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन् ।

हरेक जुलाई ११ का दिन संयुक्त राष्ट्रसंघको आह्वानमा आज संसारभर जनसङ्ख्या दिवस मनाइन्छ ।

प्रधानमन्त्री ओलीले जनसंख्यासँग जोडिएका अत्यन्त महत्वपूर्ण पक्षले समग्र आर्थिक वृद्धि तथा विकासका योजना र कार्यक्रममा प्रभाव पार्ने भएकाले आर्थिक विकास, निर्माण र सामाजिक रुपान्तरणका लागि यस अवसरलाई सदुपयोग आग्रह गरेका छन् ।

“नेपालमा शिशु तथा बाल मृत्युदर र सबै उमेरका जनसंख्याको मृत्युदरमा आएको उल्लेख्य कमीका कारण औसत आयुमा वृद्धि भएको छ र श्रम शक्ति बहुल उमेरको उल्लेख्य उपस्थिति भएको अवस्था सिर्जना भएको छ । यस अवस्थालाई हामीले उपयोग गर्न सक्नुपर्छ”, सन्देशमा भनिएको छ।

प्रधानमन्त्रीले सन्देशमा बालिकामाथि हुने लैङ्गिक विभेदमा कमी आउन थालेको तर छोरी शिशुप्रति गर्भमै वा जन्ममै विभेद गर्न थालिएको लक्षण देखिन थालेको जनाउँदै शिशु जन्मको लैङ्गिक अनुपातले भविष्यमा जनसांख्यिक असन्तुलन निम्त्याउने सम्भावनाप्रति सचेत हुन जोड दिएका छन् ।

 


प्रतिकृया दिनुहोस