समाचारबिहिबार, २६ आषाढ , २०७६

काठमाडौं उपत्यकामा साझाका रात्रिकालीन बस सेवा शुरु

रासस

काठमाडौं उपत्यकामा साझा यातायातले रात्रिकालीन बससेवा शुरु गरेको छ ।

साझा यातायात सहकारी संस्थाले काठमाडौंका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेकाे हाे ।

काठमाडाैंका तीन रुटमा बस शुरु भएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए ।

उनका अनुसार न्यूरोड गेटबाट नारायणगोपाल चोक हुँदै नयाँ बसपार्क, न्यूरोड गेटबाट त्रिपुरेश्वर हुँदै कलङ्की र न्यूरोड गेटबाट नै नयाँबानेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ बसपार्कसम्म गरेर तीन रुटमा अहिले बस शुरु भएको छ ।

बस विभिन्न स्थानको परिक्रमा गरेर पुनः न्यूरोड गेटमा नै फर्किरहेका छन् ।

यात्रुलाई रात्रिसेवाका बारेमा जानकारी नभएकाले अहिले यी बसमा यात्रु संख्या कम भएको उनले बताए । उनले भने, “यात्रुले जानकारी पाएपछि विस्तारै बढ्दै जानेछ ।”

अहिले परीक्षणका रुपमा तीनवटा बसबाट शुरु गरिएकामा आगामी दिनमा रात्रिबस विस्तार गर्दै जाने संस्थाले जनाएको छ ।

संस्था गैरनाफामूलक भएकाले आगामी दिनमा यात्रुको सुविधाका लागि बस थप्ने र रुट अन्यत्र फैलाउने व्यवस्थापक पाण्डेयले बताए । उनले भने, “हामीले यात्रुको सुविधालाई ध्यान दिएर सेवा थप गरिरहेका छौँ ।”

प्रतिकृया दिनुहोस