समाचारबिहिबार, २६ आषाढ , २०७६

"मलाई झुक्याइयाे, क्षमा प्रार्थी छु", प्रधानमन्त्री ओली

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिई झुक्याइएकाे बताएका छन् ।

बिहीबार कार्यान्वयन र प्रशासनिक पुनःसंरचना विषयक कार्यशाला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : रासस

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार काठमाडाै‌ंमा आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उनले नेपालीको भान्सामा खानेकुरा शुद्ध र विषादिरहित हुनुपर्ने उद्देश्यले सरकारले जाँच शुरु गरेको र यो कसैका विरुद्ध नभई नेपालीको खानेकुराका बारेमा मात्र भएको स्पष्ट गरे।

भारतबाट आएको पत्र गोप्य राख्नाले आफू लज्जित हुनुपर्ने अवस्था आएको बताए । प्रधानमन्त्रीले भने, "भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ, यसप्रति म क्षमाप्रार्थी छु ।" उनले आफूलाई जानकारी नदिनाले लज्जित हुनु परेकाे बताए ।

आफूलाई झुक्याएको विषय सामान्य लापरवाही हो वा जानीबुझी गरिएकाे हो भन्ने छानबिन भइरहेको र सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने पनि ओलीले बताए ।

कार्यक्रममा कार्यशालाको उद्घाटन गर्दै प्रधानमन्त्रीले स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाइने बताए । उनले भने, “जनतालाई आत्मविश्वास जगाउँदै भविष्यप्रतिको आशावादिता देखाएर प्रशासन क्षेत्रले छिटोछरितो रुपमा काम गर्नुपर्छ ।” 

अहिले सङ्घ र प्रदेशका बीचमा केही विवाद देखिएको जस्तो लागेको बताउँदै उनले भने, "कतिपयले प्रदेश भनेको छुट्टै स्वतन्त्र सार्वभौम राज्य भनेर पनि कुरा गरेका छन् । कतिपयले प्रदेश एउटा एकाइ र निकाय मात्र भएको जस्तो कुरा गर्छन् । यी दुई कुरा यथार्थ होइन । प्रदेश स्वतन्त्र राष्ट्रको एउटा निकाय हो जसलाई नियन्त्रण गर्ने काम सङ्घीय सरकारको हो ।’’

उनले सुरक्षा, अन्तर्राष्ट्रिय मामिला र आर्थिक स्रोत साधनका विषय सङ्घअन्तर्गत हुने व्यवस्था रहेको स्पष्ट पारे।

प्रतिकृया दिनुहोस