थप समाचारबुधबार, २५ आषाढ , २०७६

लभ एण्ड सपोर्ट फाउण्डेशन र घाँसी नेपालबीच सहयोग सम्बन्धी सम्झौता

हिमालखबर

पुनर्वास भुटानीहरूको एक संस्था लभ एण्ड सपोर्ट फाउण्डेशनले मध्य र पश्चिम नेपालमा केन्द्रित सामाजिक संस्था घाँसी नेपाललाई वार्षिक पाँचलाख सहयोग गर्ने सम्झौता गरेको छ ।

अमेरिकाको नर्थ क्यारोलेना राज्यको सार्लटस्थित उक्त फाउण्डेशनका अध्यक्ष मनोज राई र घाँसी नेपालका अध्यक्ष माधवप्रसाद घिमिरेबीच २४ असारमा सो सम्झौता भएको हो ।

उक्त रकम सीमान्तकृत महिलाको स्वास्थ्य र सीप विकासमा लघु परियोजना सञ्चालनमा खर्च गरिने घाँसी नेपालका अध्यक्ष घिमिरेले बताए ।

फाउण्डेशनले स्वच्छ महिनावारी सम्बन्धी चेतना जगाउन रु. ५० हजार र दुर्गममा सीमान्तकृत बालबालिकाको शैक्षिक सामग्री जुटाउन थप १ लाख रकम दिने पनि फाउण्डेशनका अध्यक्ष राईले बताएका छन् । फाउण्डेशन पुनर्वास भुटानी नेतृत्वको एक परोपकारी संस्था हो ।

सो अवसरमा अमेरिकाको सार्लटका व्यवसायी तथा समाजसेवी माइकल गुरुङले फाउण्डेशनलाई रु एकलाख सहयोग हस्तान्तरण गरेका थिए ।

फाउण्डेशनले सोही अवसरमा काठमाडौंमा सांगीतिक समारोह आयोजना गरी गायिका कविता आले, अभिनेत्री श्वेता खड्का, पत्रकार गोपाल गड्तौला, कलाकार प्रदीप खड्का, तबलावादक कुमार महाराज, बाँसुरीवादक बुद्ध लामा, रेडियो प्रशिक्षक अमरध्वज तामाङ, भुटानी साहित्यकार याम थुलुङ, नेपाल टेलिभिजनका झापा संवाददाता डिकेस लामा, संगीत निर्देशक जीवनप्रकाश प्रधान लगायतलाई सम्मान गर्‍यो ।

सो अवसरमा अध्यक्ष राईका गीति क्यासेटहरू स्पन्दन, सिनोरोटा र श्रद्धाञ्जलीको संगालोको पेनड्राइभ र गायक पूजन ल्वागुनको गीति एल्बम ‘झरी’ लोकार्पण गरियो ।

कार्यक्रममा गायक मधुकर लोहनीले गीत प्रस्तुत गरेका थिए भने, वरिष्ठ कलाकार सुनिल थापा, गायक दीप श्रेष्ठ, यम बराल, सत्यराज आचार्य, स्वरुप आचार्य, गीतकार बुद्धवीर लामा, शोभना प्रधान लगायत संगीतकर्मी र सशस्त्रका वरिष्ठ प्रहरी उपरीक्षक केबी ब्रम्हचारी लगायत उपस्थित थिए।

प्रत्येक वर्ष चलचित्र, संगीत, पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई आवार्ड प्रदान गर्दै आएको फाउण्डेशनले नेपाल, उत्तरपूर्वी भारत र अमेरिकाका विभिन्न राज्यमा नेपाली भाषा, संगीत, साहित्य, पत्रकारिता सम्बन्धी कार्यक्रम गर्नुका साथै परोपकारी संस्थाहरूलाई सहयोग गर्दै आएको छ ।

फाउण्डेशनले अमेरिकाका विभिन्न राज्य र भूटानी पुनर्वास भएका मुलुकहरूमा शाखा विस्तार गरिरहेको छ ।

सहयोग सम्बन्धी उक्त सम्झौता गर्न र अवार्ड वितरण गर्न राई फाउण्डेशनका पेन्सिलभेनिया संयोजक इन्द्र खरेलसाथ असार दोस्रो साता नेपाल आएका थिए ।

उनी १७ वर्ष पूर्वी झापाको खुदुनाबारी शरणार्थी शिविरमा रही सन् २००८ मा पुनर्वास भई अमेरिका गएका थिए । शरणार्थी शिविरमा छँदा उनी शुरुमा शिक्षक र केही वर्ष शिविर सचिव समेत भएका थिए ।

प्रतिकृया दिनुहोस