समाचारबुधबार, २५ आषाढ , २०७६

अग्नि सापकोटाविरुद्धको मुद्दामा उजुरी प्रतिलिपि मगाउन आदेश

रासस

सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको मुद्दामा पूर्वमन्त्री तथा तत्कालीन माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले बुधबार नेता सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामा हत्याको घटनामा उक्त आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, "आयोगमा उजुरी दिएको छ कि छैन र, उजुरी दिएको भन्ने प्रमाणित भएमा त्यसको प्रतिलिपि र उजुरी नपरेको भए अदालतलाई जानकारी दिनू ।" अदालतले आयोगलाई उक्त मुद्दाको उजुरीका बारेमा अदालतलाई जानकारी दिन भनिएको छ ।

लामाको विसं २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परी दुई महीनापछि शव फेला परेको थियो । लामाकी पत्नी पूर्णिमाया लामाले २०६९ साल मङ्सिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

लामाको हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो ।

सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो । त्यसअघि २०७२ चैत १२ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो मुद्दा संवैधानिक इजलासमा हेरिने आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस