खेलकुदबुधबार, २५ आषाढ , २०७६

न्युजिल्याण्डसामु भारत स्तब्ध, सकियो विश्वकप सपना

हिमालखबर

अन्तिम ११ बलमा चार विकेट गुमाएपछि भारत एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्डसँग १८ रनले पराजित भएको छ ।

तस्वीरः क्रिकेट वल्र्ड कप ट्वीट

११ बलमा ३० रन चाहिएको अवस्थामा ७७ रन बनाएर खेलिरहेका रविन्द्र जडेजा क्याच आउट भएपछि भारतको हार नजिक पुगेको थियो ।

तर, क्रिजमा महेन्द्रसिंह धोनी थिए र भारतको आशा कायम थियो । तर, ४८.३ ओभरमा धोनीलाई मार्टिन गुप्तिलले डिरेक्ट हिटमार्फत रनआउट गरेपछि हार निश्चित जस्तै भएको थियो ।

त्यसो त ९२ रनमै ६ विकेट गुमाइसकेको भारतका लागि धोनी र जडेजाले १०६ रनको साझेदारी गर्दै जीतको सम्भावना देखाएका थिए । तर, न्युजिल्याण्डका बलरले धैर्यता गुमाएनन् । र, खेललाई पुनः आफ्नो पक्षमा उल्टाए ।

४९.३ ओभरमै भारतिय खेलाडी अलआउट हुन पुगे ।

भारतका लागि जडेजापछि धोनीले सर्वाधिक ५० रन बनाए ।

भारतले ३.१ ओभरमै आफ्ना दुई ओपनर रोहित शर्मा, केएल राहुल र कप्तान विराट कोहली एक, एक बनाएर आउट भएका थिए ।

ऋषभ पन्त र हार्दिक पाण्ड्याले समान ३२ रन बनाउँदै खेललाई सुधार गरेका थिए ।

न्युजिल्याण्डका लागि म्याट हेन्रीले सर्वाधिक ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल सान्टरले २, २, लोकी फर्गुसन र जेम्स निशामले १, १ विकेट लिए ।

हेन्री प्लेयर अफ दि म्याच भए ।

मंगलबार वर्षाले स्थगन भएको यी दुई टिमबीचको खेल बुधबार पुनःखेलाइएको थियो ।

न्युजिल्याण्डलाई अन्तिम ४ ओभरमा उत्कृष्ट बलिङ गर्दै २३९ मै सिमित गरेको भारतले सहज जीतको अपेक्षा गरेको थियो ।

भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए । बाँकी बलरहरुले एक, एक विकेट लिए ।

 

 

 

प्रतिकृया दिनुहोस