थप समाचारबुधबार, २५ आषाढ , २०७६

अमेरिकाका लागि बेलायती राजदूत सर डारकद्वारा राजीनामा

हिमालखबर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सम्बन्धित विवादास्पद इमेल सार्वजनिक भएपछि अमेरिकाका लागि बेलायतका राजदूत सर किम डारकले राजीनामा दिएका छन्।

तस्वीरः गेट्टी इमेजेज्

बेलायतको विदेश मन्त्रालयले सर किमको राजीनामाको पुष्टि गरेको छ। बेलायतले किमको सेवा ‘व्यावसायिक र उच्चकोटी’को भएको बताएको छ।

सर किमले ट्रम्प प्रशासन अक्षम र अप्ठ्यारो भएको भन्दै लेखेको इमेल केही दिनअघि मात्र सार्वजनिक भएको थियो ।

इमेल सार्वजनिकपछि ट्रम्पले बेलायती राजदूतलाई ‘धेरै मूर्ख व्यक्ति’ भएको प्रतिक्रिया दिएका थिए।

राजदूत किमले इमेल प्रकरणपछिको अफवाहहरू समाप्त गर्न राजीनामा गर्नुपरेको बताएका छन् ।

ट्रम्पको प्रशासन निकम्मा रहेको व्यहोेरा समेटिएका इमेलहरू चुहिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत सन्देशहरू लेख्दै ब्रिटिश राजदूतको आलोचना गरेका थिए ।

ब्रिटिश प्रधानमन्त्रीको कार्यालयले इमेलहरू चुहिनु ‘दुर्भाग्यपूर्ण’ भएको बताउँदै सर किमले आफ्ना जिम्मेवारीहरू निरन्तर पूरा गरिरहेको बताएको थियो ।

राष्ट्रपति डोनल्ड ट्रम्पले वासिंगटनका लागि ब्रिटिश राजदूत सर किम डार्कप्रति थप आक्रामक बन्दै उनीसँग आफूहरूले व्यवहार नगर्ने बताएका थिए ।

ट्वीटमार्फत् प्रतिक्रिया जनाउँदै उनले ब्रिटिश प्रधानमन्त्री टेरिजा मेको पनि आलोचना गरेका थिए ।

आइतबार चुहावट भएको आफ्नो इमेलमा सर किमले ट्रम्प प्रशासन निष्प्रभावी र अक्षम रहेको बताएका थिए।

सार्वजनिक गरिएका गोप्य इमेलहरू सन् २०१७ देखि हालसम्मका रहेका छन्।

गत महिनाको एक इमेलमा सर किमले अमेरिकाको इरान नीतिलाई 'बेतुके र अराजक' भनेका छन्।

सोमबार ट्वीटहरू गर्दै ट्रम्पले सर किमलाई ‘अमेरिकाभित्र मन नपराइएको वा उनको बारेमा राम्रो नसोच्ने गरिएको’ उल्लेख गरेका थिए ।

-एजेन्सी

प्रतिकृया दिनुहोस