समाचारबुधबार, २५ आषाढ , २०७६

प्राकृतिक विपद् सम्बन्धी पूर्वजानकारी मोवाइलमा

रासस

नेपाल टेलिकमले सम्भावित प्राकृतिक विपदका बारेमा जनतालाई पूर्वजानकारी दिन मोवाइलमा निःशुल्क एसएमएस पठाउने व्यवस्था गरेको छ ।

देशका विभिन्न स्थानमा बाढी/पहिरोलगायतका प्राकृतिक विपद्वाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर एसएमएस प्रवाह गरी जानकारी दिने व्यवस्था गरेकाे हो । 

टेलिकमले पहाडमा पहिरो जान सक्ने र तराई डुबानमा पर्न सक्ने सम्भावना भएमा सम्भावित क्षेत्रका बासिन्दालाई निःशुल्क सन्देश पठाएर सुरक्षित रहन सचेत गराउँछ ।

जसअनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, वाग्मती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकको मोबाइलमा विपद्सम्बन्धी पूर्वसूचना सम्प्रेषणको व्यवस्था मिलाइएको छ ।

यसका लागि टेलिकमले सम्भावित विपद् क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको विवरण मौसम विज्ञान विभागलाई उपलब्ध गराइरहेको छ ।

विभागले ११५५ कोडको प्रयोग गरी विशेषगरी विपद् आउनुपूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत सन्देश (बल्क एसएमएस) मार्फत आवश्यक जानकारी पठाउने गर्दछ ।

विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकाले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको हो ।

प्रतिकृया दिनुहोस