टिप्पणीमंगलबार, २४ आषाढ , २०७६

गुठी प्रथाः लिच्छविकालभन्दा पुरानो

वसन्त महर्जन

लिच्छवि शासनकालमा नेपालमा गुठी प्रथा चलेको चर्चा गरिए पनि उनीहरूको उद्गमस्थल भारतको इतिहासमै यसबारे उल्लेख भएको भेटिंदैन। 

पछिल्लो समय सरकारले राष्ट्रिय सभामा दर्ता गरेर चर्को विरोधपछि फिर्ता लिएको गुठी सम्बन्धी विधेयकले गुठी प्रथाबारे धेरैमा जिज्ञासा बढायो ।

विधेयकका प्रावधानबारे विश्लेषण भइरहेका बेला देशभरका सबै गुठी एकै प्रकारका हुन् र नेवार समाजमा प्रचलित गुठी अन्यभन्दा फरक हुन् भन्ने दुई धार देखिए । तर, यसबारे व्याख्या भएन ।

सरकारले पर्याप्त सोचविचार नगरी सबैलाई एउटै विधेयकले समेट्न खोज्दा नै समस्या आएको हो ।

नेवार समाजसँग जोडिएको गुठीबारे ऐतिहासिक रूपमै बुझ्नुपर्ने हुन्छ । ‘गुथि’ शब्द र प्रथा नेवार समाजमा मात्र देखिन्छ । बाह्रखरीको ‘ट’ वर्ग नै नभएको नेवार बोलीमा ‘गुठी’ शब्द व्यावहारिक प्रयोजनका लागि स्वीकारिएको मात्र हो ।

राजा शिवदेव र अंशुवर्माकालीन ललितपुरको लेलेमा रहेको अभिलेख । लिच्छविकालीन २५० अभिलेखमध्ये ४८ वटामा गुठीको उल्लेख छ र त्यसमा लेलेको अभिलेख चर्चित छ । तस्वीर: वसन्त महर्जन

नेपाली इतिहास र संस्कृतिको अध्ययन क्षेत्रमा स्थापित तथ्यले ‘गुठी’ शब्दलाई संस्कृत भाषाको ‘गोष्ठी’ बाट विकसित भएको मान्छ । तर यसप्रति पंक्तिकारलाई शंका छ । ‘गो’ अर्थात् गाईसँग सम्बन्धित ग्वाला (गोपाल) हरू एकत्र भई छलफल गर्नु ‘गोष्ठी’ हो, अर्थविस्तार हुँदै जाँदा यो ग्वालाहरूसँग मात्र सीमित रहेन ।

तर गुठी (गुथि) प्रथा नेवार बाहेक अन्यत्र नदेखिंदा गोष्ठी र गुठी फरक–फरक विषय भएको यो पंक्तिकार मान्दछ । गुठी प्रथा पहिल्यैदेखि प्रचलनमा रहे पनि लिच्छविकालमा संस्कृत भाषाको प्रचलन हुँदा समान ध्वनि भएकोले गोष्ठी शब्द प्रयुक्त हुन पुगेको देखिन्छ । यस हिसाबले गुठी परम्परा लिच्छविकालभन्दा पनि पुरानो देखिएको पंक्तिकारको ठम्याइ छ ।

भारतबाट आएका लिच्छविहरूको आगमनबाट नेपालले सभ्यताका धेरै कुरा पायो । तर गुठी प्रथाको उल्लेख भारतीय इतिहासमै नपाइएकाले यहाँ गुठीको शुरूआत उनीहरूले गरेको आधार भेटिंदैन । बरु उनीहरूले गुठीको स्थानीय परम्परालाई आत्मसात् गरी त्यसमा मलजल गरेको बुझ्न सकिन्छ ।

शाहकालमा कतिपय गैर नेवारहरूले पनि गुठी प्रथामा योगदान गरेका थिए । काठमाडौंमा ज्यापू समुदायले चलाउने नरदेवी मन्दिर र त्यसको गणनृत्यलाई व्यवस्थित पार्न कपरदार भोटु पाँडेले १३२ रोपनी जग्गा गुठीको नाममा राखिदिएको प्रसंग एउटा दृष्टान्त हो ।

तर, सो जग्गा मोहियानी हक अन्तर्गत आधा हिस्सा मोहीले व्यक्तिगत बनाए भने बाँकी आधा गुठी संस्थानले रैतान गरिसकेको छ ।

अन्यत्रको गुठीमा दाताले राखिदिएको जग्गा वा गाउँबाट उठ्ने आम्दानीको स्वामी सोझै मठमन्दिर हुन्छ भने नेवार समाजमा गुठी नामको संस्था हुन्छ । अन्यत्र आयस्ताको हकदार मठमन्दिरको महन्त र उसको शेषपछि नयाँ नियुक्त भएर आउनेमा सर्दै जान्छ । यता नेवार गुठीका गुठियार (सदस्य) मा दाता वा दाताको आफन्त मात्रै अथवा केही प्रतिनिधि वा बेग्लै समूह हुन्छन् । तर सदस्यता भने वंशगत रूपमा सर्दै जाने भएकाले अविच्छिन्न हुन्छ ।

२०२१ सालमा गुठी संस्थान गठन भई गुठीको अक्षयकोषको रूपमा रहेका जग्गा धमाधम सरकारीकरण हुन थाले । त्यस क्रममा गैर नेवार समाजको मठमन्दिरको नाममा रहेका जग्गाजमीन पनि भित्र्याउँदा यो शब्दले व्यापकता पाएको हो, प्रथाले होइन । संस्कार, संस्कृति र परम्पराका रूपमा नेवार समाजमा प्रचलित यो प्रथालाई अनुकरणका क्रममा गैर नेवार समाजले आत्मसात् गर्न खोज्यो ।

धार्मिक तथा सामाजिक कार्यका लागि जग्गा राखेर त्यसको आयस्ताले निश्चित काम गर्ने प्रचलन भारतमा पुरानै हो । भारतीय इतिहासको अध्ययन गर्दा राजा–महाराजा एवं दाताले धार्मिक तथा सामाजिक कार्यका लागि जग्गा वा गाउँ छुट्याइदिएको वा आफैंले किनेर राखेका उदाहरण प्रशस्त पाइए पनि गुठी परम्परा भने पाइँदैन । हाम्रोमा स्वर्गद्वारी, जनकपुर, मटियानी मठ आदि संचालन पनि त्यस्तै प्रकृतिको निरन्तरता हो, जुन नेवार समाजमा प्रचलित गुठीभन्दा फरक छ ।

अन्यत्रको गुठीमा दाताले राखिदिएको जग्गा वा गाउँबाट उठ्ने आम्दानीको स्वामी सोझै मठमन्दिर हुन्छ भने नेवार समाजमा गुठी नामको संस्था हुन्छ । अन्यत्र आयस्ताको हकदार मठमन्दिरको महन्त र उसको शेषपछि नयाँ नियुक्त भएर आउनेमा सर्दै जान्छ ।

यता नेवार गुठीका गुठियार (सदस्य) मा दाता वा दाताको आफन्त मात्रै अथवा केही प्रतिनिधि वा बेग्लै समूह हुन्छन् । तर सदस्यता भने वंशगत रूपमा सर्दै जाने भएकाले अविच्छिन्न हुन्छ ।

निश्चित कामको जिम्मा पाएका केही गुठियारहरूमा उक्त जिम्मेवारी परम्परागत रूपमा हस्तान्तरण हुँदै जान्छ, तर सम्पत्तिमा व्यक्तिगत हक लाग्दैन । उनीहरूले पारिश्रमिक नलिई सामूहिक भावनाबाट काम गर्नुपर्छ । दाताबाट प्राप्त जग्गाको रेखदेख गरी त्यसको आम्दानीबाट निर्दिष्ट कार्य गर्नुपर्ने दायित्वबाट च्यूत भएमा गुठीले दण्ड दिनुका साथै निष्कासन पनि गर्न सक्छ ।

गुठीसँग जग्गाजमीन हुनैपर्छ भन्ने अनिवार्य छैन । धर्म–संस्कृति सम्बन्धी सामूहिक कार्यका लागि गठित कतिपय गुठी आयस्ताको स्रोत विना गुठियारहरूकै खर्चमा चल्ने गर्छन् । समयक्रममा कसैले अक्षयकोष राखिदिएको वा गुठीले नै बन्दोबस्त गरेको पनि पाइन्छ ।

गुठीहरू सह–अस्तित्व र सामूहिक भावनाको अनुपम उदाहरण भए पनि यो मूल्य–मान्यतालाई बुझ्न नसक्दा विधेयकले सरकारीकरण गर्ने निशाना बनाएको थियो ।

विधेयकका पक्षधरले गुठीले गर्दै आएका धार्मिक तथा सांस्कृतिक कार्यलाई गुठी प्राधिकरणले निरन्तरता दिने वकालत गरेका थिए । तर पूजाआजा र जात्रापर्व संचालन हुनु मात्रै संस्कृतिको संरक्षण होइन ।

परम्परागत विधिविधान अनुसारको कार्यमा सम्बन्धित व्यक्ति वा समुदायको संलग्नताले मात्रै अमूर्त संस्कृतिले जीवन्तता पाउने हो, अन्यथा त्यो संस्कृति मरेको साबित हुन्छ ।

प्रतिकृया दिनुहोस