विश्व व्यवस्थामा परिवर्तनले नेपाललाई चुनौती : परराष्ट्र मन्त्री ज्ञवाली
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले विश्व व्यवस्थामा पूर्वानुमान नै गर्न नसकिने गरी भइरहेको परिवर्तनले नेपाल लगायतका साना मुलुकमाथि गम्भीर चुनौती थपिएको बताएका छन् ।
२४ असारमा राजधानीमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले पहिलेको विश्व व्यवस्था अनुमान गर्न सकिने गरी एउटा ‘सिस्टम’मा चलेको, तर अहिले बहुपक्षीयताले गर्दा पूर्वानुमान गर्न नसकिने हुँदै गएको टिप्पणी गरे ।
‘नेपालको कुटनीतिक अभ्यास:राजदूतहरुको अनुभव’ पुस्तक लोकार्पण कार्यक्रममा प्रमुख वक्ता रहेका परराष्ट्र मन्त्री ज्ञवालीले अगाडि भने, “पहिलेको विश्व व्यवस्था भत्किदा वा सिफ्ट हुँदा ठूला देशलाई असर नपर्न सक्छ, तर साना मुलुकले त्यसको गम्भीर असर व्यहोर्नुपर्छ”, उनले भने, “त्यसबाट जोगिने एउटै उपाय भनेको राष्ट्रिय हित केन्द्रमा राखेर चुस्त कुटनीतिक क्षमता देखाउने हो ।”
उनले विश्व व्यवस्थामा आएको बदलावसँगै अब जलवायु परिवर्तन मात्र होइन, जलवायु आपतकालको समेत चर्चा हुन थालिसकेको बताए ।
“अहिले हामीसँग डरलाग्दा चुनौती र अवसर दुवै छन्, त्यसका लागि हामीसँग भएको र हामीले प्रयोग गर्न सक्ने साधन भनेको कुटनीति मात्र हो”, ज्ञवालीले भने, “त्यसका लागि हाम्रो साझ पहल आवश्यक छ, यसमा राष्ट्रिय सहमति जुटाउनकै निम्ति परराष्ट्र मन्त्रालयले राष्ट्रिय संवाद शुरु गरेको छ ।”
पुस्तकमा विभिन्न कालखण्डमा नेपालको राजदूत भएर विभिन्न मुलुकमा खटिएका २० जना पूर्वराजदूतको अनुभव समेटिएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले पुस्तकलाई मुलुकको ५० बर्षको कुटनीतिको आँखीझ्यालका रुपमा चर्चा गर्दै पुस्तकमार्फत् नयाँ पुस्ताले कुटनीतिको जगबारे बुझ्न पाउने समेत बताए ।
लोकार्पणमा बोल्दै पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले यसखाले पुस्तक लेखनलाई कुटनीतिक क्षेत्रको बौद्धिक अभ्यास भन्दै यस्तो अभ्यासबाट नेपालको कुटनीतिक क्षेत्र नै प्रत्यक्ष लाभान्वित हुने बताए ।
पुस्तकका सम्पादक विष्णु रिजालले हिंजोको महत्वपूर्ण कालखण्डको कुटनीतिक इतिहासलाई राजदूतहरुको अनुभवमा जस्ताको तस्तै पुस्तकाकार दिने प्रयास गरिएको बताए । पुस्तक परराष्ट्र मामिला अध्ययन केन्द्रले प्रकाशनमा ल्याएको हो ।