थप समाचारमंगलबार, २४ आषाढ , २०७६

हिमपहिरोमा परेका नन्दादेवी हिमाल आरोहीको अन्तिम भिडियो सार्वजनिक

हिमालखबर

नन्दादेवी हिमाल आरोहणका क्रममा ज्यान गुमाउने पर्वतारोहीको हिमपहिरो आउनुअघि रेकर्ड भएको एक भिडियो सार्वजनिक भएको छ ।

यस भिडियोलाई भारतीय तिब्बत सीमा प्रहरी ‘आईटीबीपी’ ले आफ्नो ट्वीटर मार्फत साझा गरेको हो । भिडियोमा पर्वतारोहीहरू हिंड्दै गरेको दृश्य देख्न सकिन्छ ।

पर्वतारोहीमध्ये पछाडि हिंडिरहेको पर्वतारोहीको हेलमेटमा यो क्यामेरा लगाइएको थियो । जुन शवसँगै आईटीबीपीका जवानले हिउँमा पुरिएको अवस्थामा फेला पारेका थिए ।

आईटीबीपीको ट्वीटरमा एक मिनेट ५५ सेकेन्डको भिडियो पोस्ट गर्दै लेखिएको छ– नन्दादेवी नजिकै रहेको अनाम शिखर नजिकै पर्वतारोहीहरूको अन्तिम दृश्य ।

आईटीबीपीका उद्धारकर्मीको टीमले १९ हजार फिटमाथि शवहरू देखिएको ठाउँमा यो मेमोरी भिडियो डिभाइस फेला पारेका थिए । उनीहरूले त्यस क्षेत्रमा पर्वतारोही हुनसक्ने भनी खोजी गरिरहेका थिए ।

आईटीबीपीका उपमहानिर्देशक एपीएस नंबदियाले भने, “यो फुटेज हेर्नु हाम्रा लागि चिन्ताजनक थियो”, उनले पत्रकार सम्मेलनमा भने, “यो भिडियोले हामीलाई मिसनमा भएको गल्तीलाई विश्लेषण गर्न मद्दत गर्नेछ”, उनले भने, “पर्वतारोहीको अन्तिम केही क्षणको भिडियो एक विमानको ब्ल्याक बक्सझैं साबित भएको छ ।”

सन् २०१९ मे १३ देखि १२ जना पर्वतारोहीले नन्दादेवी हिमाल आरोहण शुरु गरेका थिए । तर, केही समयपछि उनीहरू हिमपहिरोमा परे । तीमध्ये चारजनाको उद्धार गरियो, अन्य ८ जना हिमपहिरोमै हराए ।

उद्धारकर्मीहरूले हिमपहिरोमा परेकामध्येको ७ शव निकालेका थिए भने एकजना आरोही अझैसम्म हराइरहेका छन् । एक महीनासम्म उद्धार अभियान चलेको थियो । 

भारतमा रहेको नन्दादेवी हिमाल आरोहणका लागि गएका १२ पर्वतारोहीमध्ये चारजनालाई सुरक्षित उद्धार गरिएपनि ८ जना हिमपहिरोमा परेका थिए । यी ८ जनामध्ये चार बेलायती, दुई अमेरिकी, एक अस्ट्रेलियाली र एक भारतीय नागरिक रहेका थिए । टीम लिडर मार्टिन मोरन अझै हराइरहेका छन् । –एजेन्सी

भिडियो स्रोतः @ITBP_official

 

प्रतिकृया दिनुहोस