रानीपोखरीस्थित बालगाेपालेश्वर मन्दिरको पुनर्निर्माण गर्ने सम्झौता
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर, पुल र बगैंचा पुनर्निर्माणका लागि पुनर्निमाण प्राधिकरण र निर्माण कम्पनी सीए/तुलसी कन्ट्रक्सन जेभीबीच सम्झौता भएको छ ।
प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
प्राधिकरणका अनुसार रु १४ करोड २७ हजार ५ सय ५७ मा संरचनाहरु पुनर्निमाण गरिने हुन लागेको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिरको प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण हुने बताए ।
उनले उपभोक्ता समितिमार्फत् रानीपोखरीको पुनर्निर्माण भइरहेकाले अब बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पनि द्रुत गतिमा सँगसँगै अघि बढ्ने बताए ।
निर्माण व्यवसायी शान्तकुमार श्रेष्ठले प्राधिकरण, उपभोक्ता समिति लगायतसँग सहकार्य र समन्वय गर्दै सम्पदाको मौलिकतालाई विशेष ध्यान दिएर बालगोपालेश्वर मन्दिर, पुल र वरिपरिको क्षेत्रमा पुनर्निर्माणको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रानीपोखरी उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले निर्माण व्यवसायी र आफूहरुबीच एकअर्कालाई सहयोग गरेर समन्वयात्मक रुपमा पुनर्निर्माणको काम गर्ने बताए ।
उपभोक्ता समिति मार्फत रानीपोखरीको पिँध र वरिवरीको क्षेत्रमा पर्खाल लगाउने कार्य भइरहेको छ ।