नेपाललाई एसीसी यू–१९ इस्टर्न रिजन कपकाे उपाधि, हङकङ ६ विकेटले पराजित
हङकङलाई हराउँदै नेपालले एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको उपाधि जितेको छ ।
मलेसियाको किनरारा ओभल मैदानमा फाइनलमा हङकङको ९६ रनको लक्ष्यलाई नेपालले १६.१ ओभरमै पूरा गरेको थियो ।
जितसँगै नेपाल यू–१९ एसिया कपमा छनोट भएको छ । यो प्रतियोगितामा नेपालले एसियाका एकदिवसीय र टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेल्न पाउनेछ ।
नेपालका लागि ओपनर पवन सर्राफले ३९ रन बनाए । अर्का ओपनर रित गौतमलाई ६.३ ओभरमा टिमको स्कोर ५२ रन छँदा १३ रनमा गुमाएको नेपालले त्यसपछि सम्हालिएर खेलेको थियो ।
टिमका लागि २० रनमात्र चाँहिदा पवन सर्राफ आउट भए । त्यसलगत्तै खडकबहादुर बोहरा, कप्तान रोहितकुमार पौडेल ठूलो सट खोल्न खोज्दा पभेलियन फर्किए ।
यसअघि टस जितेर बलिङ रोजेको नेपालका लागि स्पिनर सागर ढकाल नायक बने ।
हङकङलाई ९५ रनमै समेट्ने क्रममा ढकालले ५ विकेट लिए । कमल सिंह ऐरीले ३ विकेट लिए भने बाँकी विकेट कुशल मल्ल र तिलक राज भण्डारीको नाममा रह्यो ।
हङकङका लागि मोहम्मद हसन र रौनक कपूरले २,२ विकेट लिए । यसअघि सेमिफाइनलमा नेपालले मलेसियालाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
लिग चरणमा नेपालले सिंगापुर र चीनलाई पराजित गरेको थियो ।