रिपोर्टसोमबार, २३ आषाढ , २०७६

नक्कली इन्जिनियरको किर्ते काम

कमल रिमाल

मोरङको बुढीगंगा गाउँपालिकामा इन्जिनियरले घरको नक्सा पास गर्दा प्रमुख प्रशासकीय अधिकृतको समेत हस्ताक्षर आफैं गरेको पाइएको छ ।

नक्कली प्रमाणपत्रका आधारमा गाउँपालिकामा जागिर खाएको पाइएपछि मुद्दा खेप्दै गरेका इन्जिनियर चन्द्र चौधरीले सर्वसाधारणबाट नक्सा पास बापतको राजस्व लिएर बिलसमेत नदिएको भेटिएको छ ।

वडा नम्बर ३ गंगाचोकका भविष निरौलाले २०७३ सालमा घरको नक्सा चौधरीबाटै पास गराएका थिए । उनले राजस्व बापतको रु १२ हजार पनि बुझाएका थिए ।

निरौलाले लिएको प्रथम चरणको अनुमतिपत्रमा पेश गर्ने र जाँच गर्ने दुई ठाउँमा चौधरी आफैंले हस्ताक्षर गरेका थिए । सदर गर्ने व्यक्तिको हस्ताक्षर हुनुपर्ने ठाउँमा भने चौधरीले आफ्नो नामको छाप लगाइदिएको पाइएको छ ।

घर निर्माण सम्पन्नको प्रमाणपत्र लिन २२ असारमा गाउँपालिका पुगेका निरौलाले प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेलाई इजाजतपत्र देखाउँदा चौधरीले गरेको किर्ते काम बाहिर आएको छ ।

“मैले सही गर्नुपर्ने ठाउँमा इन्जिनियर चौधरी आफैंले सही गरेको भेटियो”, न्यौपानेले भने, “उनले गरेका किर्ते र बिल नदिई लिएको शुल्कको गुनासो धेरै आइसक्यो ।” न्यौपानेका अनुसार करारमा कार्यरत चौधरीको आईएससीको प्रमाणपत्र नक्कली पाइएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

मुद्दा दर्ता भएपछि गाउँपालिकाले चौधरीसँगको करार भंग गरिसकेको छ ।

“मैले त इन्जिनियरबाटै पास गराएर शुल्क बुझाएको हुँ, घर सम्पन्न भयो प्रमाणपत्र पाउन सकिनँ”, निरौलाले भने । उनका अनुसार, ५४ फिट मुख भएको घरको नक्सा पास गराइए पनि छिमेकीसँग विवाद नहोस भनेर दुवै तर्फबाट १, १ फिट घटाएर घर निर्माण गरिएको छ ।

चौधरीले त्यसका लागि पनि सहमति दिएका थिए । तर, अहिले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र नपाउने अवस्था आएको निरौला बताउँछन्।

चौधरीले गाउँपालिकालाई बुझाउनुपर्ने कति रकम हिनामिना गरे भन्ने पत्ता लाग्न सकेको छैन । चौधरीले बिल नकाटेकाले कति जनाबाट यसरी रकम लिए भन्ने खुल्न नसकेको न्यौपानेले बताए ।

मुद्दा प्रक्रियामा हाल काठमाडौंमा रहेका चौधरीको मोबाइल फोन अफ रहने गरेकाले उनीसँग स्थानीय कसैको पनि सम्पर्क हुने गरेको छैन ।

 

प्रतिकृया दिनुहोस