समाचारआइतबार, २२ आषाढ , २०७६

शङ्ख फुके पनि जोगिएनन् मकै

रासस

मकै बारीमा शङ्ख बज्न थालेको दुई महिना भयो पोखरा महानगरपालिका वडा नं ३३ का आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथानलगायत क्षेत्रमा ।

अघिल्ला वर्ष शंख फुकेपछि मकै जोगिएको थियो । तर यो वर्ष भने बिहान उज्यालो भएदेखि बेलुका झमक्क साँझ नपरेसम्म शंख फुकेपनि बाँदर भागेन ।

मकैमा धानचमरा आउँदादेखि नै बाँदरले नछाडे पछि त्यहाँका किसान हैरान भएका छन् । “खै अघिल्ला वर्षमा त शङ्ख फुकेपछि बाँदर तर्सिएर भाग्थे,” स्थानीयवासी कृषक बन्धुराज पौडेलले भने “अहिले त बाँदरले छोड्दै छोडेनन्, हामी त आजित भइसक्यौँ।”

कसैगरी मकै जोगाउन नसकेपछि स्थानीयवासीले बाँदरबाट जोगिएका हरिया मकै नै भाँच्न थालेका छन् ।

“अघिल्ला वर्ष एक ट्र्याक्टरभन्दा बढी मकै आँगेटारीबाटै घरमा भित्र्याउँथ्यौँ,” दुःखेसो सुनाउँदै उनले भने “खै अहिले त भन्न पनि लाज लाग्छ, हरियै भाँचेर एक डोकी लगियो ।”

भाँचेर राखेका हरिया मकैसमेत बाँदरले घरबाटै खाइदिएपछि कृषक थप पीडामा छन् ।

स्थानीयवासीका अनुसार आँगेटारी, नाङ्गे चौर र आसपासका क्षेत्रमा दुई महिनायता भित्रिएका झण्डै छ सय बाँदरको बगाल भागेको छैन ।

पहिला पहिला एक दुई जनाले धपाएर पनि बाँदर भाग्ने गरेको अनुभव सुनाउने स्थानीय चण्डी माध्यमिक विद्यालयका शिक्षक कमलप्रसाद पौडेल अहिले भने भाग्नुको साटो एक दुई जनालाई त उल्टै चिथोर्न आउने गरेको बताउँछन् ।

बाँदरले मकै खेतीमा ठूलो क्षति पु¥याएको जनाउँदै कृषकहरू सम्बन्धित निकायमा क्षतिपूर्तिको माग गर्ने तयारीमा लागेका छन् ।

बाँदरले खाद्यान्न, तरकारी बाली र फलफूल खेती नष्ट गरिदिए पनि सरकार एवम् सम्बन्धित निकाय मौन बनेको भन्दै कास्कीका किसानले २०७३ मा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

किसानकै पक्षमा सर्वोच्वले रिटको सुनुवाइ गरिसकेको भए पनि त्यसको कार्यान्वयन हुन नसकेको उनीहरुको गुनासो छ ।

 

प्रतिकृया दिनुहोस